टोकियो : विश्व खेलकुदको महाकुम्भ अहिले जापानको टोकियो सहरमा सञ्चालन भइरहेको छ। आगामी अगस्ट ८ सम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा आफूलाई अब्बल सावित गर्न ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। टोकियो ओलम्पिकमा संसारका २ सय ५ राष्ट्रका खेलाडीले ३३ खेलमा तीन सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
टोकियो ओलम्पिकमा जर्मनीकी एथलेटिक्स खेलाडी एलिसा स्मिटको चर्चा भने फरक ढंगले भइरहेको छ। उनी खेलका कारण मात्र नभई सुन्दरताका कारण पनि संसारभर चर्चा बटुलिरहेकी छन्। २२ वर्षीया एलिसाले टोकियो ओलम्पिकमा एथलेटिक्सको ४ गुणा ४ सय मिटर रिले दौडमा प्रतिस्पर्धा गरिरहेकी छन्। तर, चर्चा भने उनको खेलको भन्दा पनि सुन्दरताको भइरहेको छ।
आफ्नो चर्चा फरक रूपमा भइरहँदा पनि एलिसाले त्यसमा कुनै ध्यान दिएकी छैनन्। उनी सम्पूर्ण ध्यान ओलम्पिकमा लगाइरहेकी छन्। खेलकुदमा रमाइरहेकी एलिसाको इन्टाग्राममा १८ लाखभन्दा बढी फलोअर्स छन्। तर, उनी निकै कम समय मात्र सामाजिक सञ्जाललाई दिन्छिन्। ‘धेरै समय खेलकुदमै व्यस्त भइन्छ। त्यसैले सामाजिक सञ्जालमा खासै समय दिन सकिँदैन’, उनी भन्छिन्, ‘अझ ओलम्पिकजस्ता ठूला प्रतियोगिताको दबाब छुट्टै हुन्छ। हामीले अन्यत्र ध्यान लगाउने समय नै हुँदैन।’
ट्र्याक एन्ड फिल्डकी स्टार खेलाडी एलिसाले ‘प्ले ब्वाय’ म्यागजिनको फोटो सुटलाई समेत अस्वीकार गरिसकेकी छन्। ‘प्ले ब्वाय’को न्युड फोटो सुटलाई उनले अस्वीकार गरेकी हुन्।