साविक निजगढ गाविसको सिफारिसमा नागरिकता लिएको वडा अध्यक्ष स्वर्ण लामाको भनाइ
बारा | झुटा विवरणको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिने निजगढका ३ जना सहित १० जना भारतीयलाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेपछि निजगढमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ बाट ३ जना भारतीय नागरिकले नागरिकता लिएको समाचार सार्वजनिक भएपछि सोको लागि सिफारिस गर्नेहरु माथि पनि छानबिन गरेर कारबाही गरिनुपर्ने भन्दै निजगढमा सामाजिक सन्जाल प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन ।
यता भारतीय नागरिकले निजगढबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा निजगढ नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।
८ नं वडा कार्यालयले हिजो एक विज्ञप्ति निकालेर झुटा विवरण पेश गरी भारतीय नागरिकले नेपाली नागरिकता बनाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । वडा अध्यक्ष स्वर्ण लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा निजगढ नगरपालिका घोषणा हुनअघि मिनादेवी गुप्ता र स्नेहलता गुप्ताले साविकको निजगढ गाविस ८ नम्बर ठेगानाबाट नागरिकता प्राप्त गरेको देखिएको बताइएको छ । तत्कालिन गाविस कार्यालयको सिफारिसमा उनीहरुले नागरिकता बनाएको र सो कार्यमा वडा नम्बर ८ कार्यालयको कुनै पनि संलग्नता नरहेको सम्पूर्णमा जानकारी गराइन्छ विज्ञप्तिमा उल्लेख छ ।
भारतको उत्तर प्रदेशका उनीहरुले बाराको निजगढ, सिराहा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिइएको भेटिएपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बैशाख २५ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमध्ये स्नेहलता गुप्ताले निजगढ– ८ बस्ने रामेश्वरप्रसाद गुप्ताको छोरी बनेर बंशजको आधारमा नागकिरता लिएको र राजेशकुमार गुप्ताले दिनेशप्रसाद गुप्ताको छोरा बनेर जन्मको आधारमा नागरिकता लिएको पाइएको हो ।
त्यसैगरी मिनादेवी गुप्ताले निजगढ– ८ बस्ने रामानन्द साहको छोरी बनेर बंशजको आधारमा नागरिकता लिइएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभएको छ । उहाँका अुनसार स्नेहलताले ०६९ साल चैत्र ९ गते र राजेश तथा मिनादेबीले ०६९ साल असार ११ गते जिल्ला प्रशासन कार्यालय बाराबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएका हुन ।