काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनमा देखिएका कमजोरीबारे आफूलाई झक्झक्याउन पार्टीका युवा नेताहरुलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । छलफलमा कांग्रेसका केन्द्रीय सदस्य कमला पन्त, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, रामकृष्ण यादव, गुरुराज घिमिरे, जीवन परियार र गगन थापा सहभागी थिए।
प्रधानमन्त्रीलाई बधाइ दिन बालुवाटार पुगेका उनीहरुसँगको भेटमा प्रधानमन्त्रीले सरकार सञ्चालनका क्रममा सधैँ आफूलाई खबरदारी गर्न पनि आह्वान गरेको छलफलमा सहभागी केन्द्रीय सदस्य कमला पन्तले बताइन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेत्री पन्तले भनिन् ‘म देश र जनताको निमित्त सकारात्मक काम गरेर देखाउने प्रयासमा छु, मेरो प्रयासमा सबैले साथ दिनुहोला । मलाई सहयोग गर्नुपर्छ।’
प्रधानमन्त्री समक्ष युवा नेताले दार्चुला घटना तत्काल छानविन गर्न र आवश्यक परेको खण्डमा भारतीयसँग पनि सहयोग लिन आग्रह गर्दा प्रधानमन्त्री देउवाले छानविन टोली घटनास्थलमै पुगेकोले उनीहरु फर्केपछि थप आवश्यक छानविनको पहल फरक ढङ्गबाट हुने बताए।
भारतीयसँग पनि आवश्यक परेको खण्डमा घटनाको विषयमा छलफल गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेका थिए । भेटमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको बुझिएको छ । युवा नेतासँगको छलफलका क्रममा प्रधानमन्त्रीले आफूलाई असफल बनाउन पार्टीकै साथीहरु षड्यन्त्रपूर्वक लागिपरेको आरोप पनि लगाएका थिए।