देशकै अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बहुआयामिक महत्वको काठमाडौं–निजगढ फास्टट्र्याक नेपाली सेनाद्वारा निर्माणाधीन छ । फास्टट्र्याक निर्माणको काम सुरु भएयता तराईवासीहरू उत्साहित छन् ।
दशकौंदेखि योजनामै सीमित रहेको यस आयोजनाको निर्माण कार्य अघि बढेसँगै यस सडकको सामीप्यका धेरै नेपालीले समृद्धि भित्रिने आशा गरेका छन् । मुलुककै ठूलो र केन्द्रीय सहर काठमाडौंलाई करिब डेढ घण्टामै जोड्ने सडक निर्माण हुँदा तराईवासीले निश्चय नै अनगिन्ती लाभ लिन सक्छन् । कृषि उत्पादनका लागि उर्वर मानिएको तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरूले काठमाडौंलाई सहजै आफ्नो बजार बनाउन सक्छन् ।
खास गरी विकास निर्माण भनेको अत्याधुनिक सडक, बिजुली, खानेपानी तथा टेलिकम्युनिकेसनजस्ता पूर्वाधारहरूको क्षेत्रमा हुने प्रगति नै हो । निश्चय नै त्यसले अवसरविहीनहरूलाई अवसर सिर्जना गर्छ । बजारविहीनहरूलाई बजार सिर्जना गर्छ र समस्या झेलिरहेकाहरू काठमाडौंजस्ता सहरहरूलाई समस्याबाट निदान गर्छ ।
यस आयोजनाले मध्यतराईलाई काठमाडौंसँग छोटो दूरी (७२.५ किमि) मै जोड्न सक्नेछ । देशकै मुहार बदल्न सक्ने र करिब मुलुककै आधा जनसंख्यालाई यो वा त्यो रूपमा यस आयोजनाले प्रभाव पार्नेछ ।
यस आयोजना निर्माणका लागि १ खर्बभन्दा बढी रकम लाग्ने अनुमान रहेको छ । ४ वर्षभित्र सम्पन्न गर्ने गरी नेपाली सेनाले बनाउँदै गरेको यस आयोजनाका लागि वार्षिक रूपमा वर्ष बजेट विनियोजित हुने गरेको छ । चालू आवमा पनि सरकारले काठमाडौं–निजगढ फास्टट्र्याकलाई ८ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाली सेनाले कोरोना महामारीको यस घडीमा पनि आयोजना निर्माणलाई जारी नै गरेको छ । यद्यपि कोरोनाको प्रभाव यस आयोजनाको निर्माणमा पनि पर्छ नै । त्यसले गर्दा निर्धारित चार वर्षमा त यस आयोजना पनि नबन सक्ला, तर नेपाली सेनाले गरेको प्रयास भने प्रशंसनीय नै छ ।
सेनाले हालसालै प्रकाशित गरेको निजगढ–खोकनासम्बन्धी टेन्डरअनुसार यस आयोजनमा ८७ वटा पुल पर्छन् । ती पुलहरूको कुल लम्बाइ करिब १० किमिजति पर्छ । खास गरी पुलहरूको निर्माणको कामले नै यस आयोजनामा धेरैजसो समय खर्च हुने देखिन्छ । नेपाल आफैंमा धेरैजसो पहाडि भूभागले बनेको अलिक अप्ठेरो भौगोलिक संरचनाले गर्दा राजमार्गहरू निर्माणका क्रममा केही जटिलता त अवश्य नै हुन्छन् । तर, त्यस्ता किसिमका थोरबहुत जटिलतालाई व्यवस्थापन गरेर शीघ्र रूपमा यस आयोजना सम्पन्न गर्न सकिँदा पूरा देशले नै अनगिन्ती अवसर हासिल गर्न सक्छ । देशको आत्मनिर्भरता र आत्मसम्मानमा यस आयोजनाको महत्व विछट्टै छ ।
यस आयोजनालाई धेरै वर्षअघिदेखि बजेट छुट्ट्याउन थालिए पनि खर्च हुन सकेको थिएन । अर्थात् काम नै अघि बढेको थिएन । सेनाले फिल्डमै गएर रफ्तारमा काम सुरु गरेपछि धेरैमा आशाका आँकुराहरू पलाएका छन् ।


कृषि उत्पादनका लागि उर्वर मानिएको तराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूले काठमाडौंलाई सहजै आफ्नो बजार बनाउन सक्छन् ।
किन आवश्यक छ फास्टट्र्याक ?
नेपालमा अहिले जनतामा तीव्र विकासको आकांक्षा छ । विगतमा अनगिन्ती विकास प्रयास भएका पनि हुन् । तर, स्वदेशी स्तरमा पुँजी अभाव र प्रत्यक्ष वैदेशिक लगानीमा राजनीतीकरणको प्रभावका कारण विकास प्रक्रिया लथालिङ्गप्रायः छ । विभिन्न मुलुकका लगानीकर्ताहरूले निर्माणका लागि पटक–पटक दरखास्त हाले पनि काठमाडौं–निजगढ फास्टट्र्याक निमार्णको कार्य ओझेलमा थियो । मुख्यतया यसमा सरकार फेरबदल र प्राथमिकता फेरबदलले काम गरेको थियो । सरकारले आवश्यक तयारी र योजनाबद्ध रूपमा अगाडि नबढाएको कारण राष्ट्रिय गौरवका आयोजना अलपत्र थियो । तर, नेपाललाई नयाँ बनाउन र विकासको स्वरूप बदल्न काठामाडौं–निजगढ फास्टट्र्याक उच्च प्रभावकारी आयोजना सबैमा महसुस भयो । अन्य आयोजनाहरूको तुलनामा लाभ–हानिको हिसाबकिताब गर्ने हो भने यस आयोजना मुलुकका लागि अधिकतम फलदायी छ ।
खासगरी फास्टट्र्याक काठमाडौंको महँगी, अभाव, असुरक्षा व्यवस्थापन गर्न, जनसांख्यिक स्थानान्तरण, फलफूल तथा तरकारीमा आत्मनिर्भरता, अवसरहरूको फैलावट र विकेन्द्रीकरणलगायतका कारणले यो आयोजना महत्वपूर्ण छ । फास्ट्रट्र्याकले काठमाडौं उपत्यकाका ६० लाखभन्दा बढी नेपालीहरूका लागि महत्वपूर्ण सरोकार र सम्बन्ध राख्छ । तिनको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्छ ।
धेरै विश्वविख्यात विकासविद्हरूले पूर्वाधार निर्माण नै विकासको पहिलो आधार र सर्त हो भन्ने गरेका छन् । त्यो धु्रवसत्य हो र वास्तविकता हो । तर, नेपालमा भने यथोचित पूर्वाधार विकास नै हुन सकेको अवस्था छैन । यदि तराई, पहाड र हिमालबीचको अन्योन्याश्रित सम्बन्धलाई व्यवस्थित गर्ने हो र ठूला पूर्वाधार निर्माणमा अग्रसरता लिने हो भने नेपालको विकास धेरै रफ्तारको विषय हुँदैन । नेपालको दीर्घकालीन विकासका लागि बहुआयामिक महत्वका ठूला सडकको निर्माण अति आवश्यक छ । त्यसमा पनि घना जनसंख्याले घेरिएको काठमाडौंसँग सीधै जोडिने फास्टट्र्याकजस्तो आयोजनाको ठूलो महत्व रहन्छ । काठमाडौंमा हाल महँगी, अभाव र अराजकता व्याप्त छ । यसो हुनुमा छिटोछरितो दूरीको सडक अभावले ठूलो भूमिका खेलेको छ । धेरैजसो मान्छेहरू सुविधाका लागि नै काठमाडौं उपत्यकामा नै थुप्रिएका छन् । काठमाडौंको तुलनामा देशका अन्य स्थानहरू विकासका दृष्टिले पछि परेका कारण आम मान्छेको नजर यसैमा छ । निश्चय पनि फास्टट्र्याकजस्तो छोटो दूरीमै तराईसँग जोडिने पूर्वाधार निर्माण भएमा राजधानीको जनघनत्व घट्नेछ । साथसाथै राजधानीको धेरै समस्याको निदान हुन्छ । जस्तो प्रस्तावित काठमाडौं–निजगढ फास्टट्र्याक (७२.५ किमि) काठमाडौंलाई लामो समयदेखि जोड्दै आएको मुग्लिन सडकखण्ड (२ सय ६२ किमि) भन्दा १ सय ८९.५ किमि छोटो, गुणस्तरीय र सीधा हुनेछ, जसले गर्दा मुग्लिन सडकखण्डद्वारा काठमाडौं उपत्यकामा आयात–निर्यात हुने वस्तुहरूभन्दा काठमाडौं–निजगढ फास्टट्र्याकबाट आयात–निर्यात हुने वस्तुहरू स्वतः धेरै सस्ता, ताजा एवं भरपर्दा हुनेछन् । एडीबी र विश्व बैंकका अध्ययनहरूले फास्टट्र्याकको प्रयोगबाट नेपालले वार्षिक ५ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ बचत गर्ने देखिएका छन् । फास्टट्र्याक प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको जगसमेत हो । यी दुवै आयोजना एक–अर्कामा घनिष्ठ रूपले अन्तरसम्बन्धित छन् । यी आयोजनाहरूले काठमाडौं उपत्यकामा संकटका रूपमा विकसित हुँदै आएको पानी समस्या, इन्धन समस्या, फोहोरमैला समस्या हल गर्न धेरै हदसम्म योगदान दिनेछन् । अर्को काठमाडौंकेन्द्रित विकासलाई यसै आयोजनमाार्फत तराईसम्म पु-याउन पनि सकिन्छ, जसले गर्दा रोजगारी र आय आर्जनका नयाँ–नयाँ सम्भावनाहरू पहेलिन्छन् । तराईको कृषि उपजलाई सजिलै काठमाडौंसम्म ल्याउन सकिने हुँदा बर्सेनि चुलिँदै गएको महँगी नियन्त्रण गर्न सकिन्छ । यस्तै विभिन्न गुणस्तरहीन सडक प्रयोग गर्दा दिनहुँ जस्तो हुने सडक दुर्घटना कम गर्न सकिन्छ । यसरी हरेक हिसाबले यी दुई आयोजना मुलुकका लागि फलदायी छन् । यी आयोजना शीघ्र निर्माण गर्नु राज्यको दायित्व हो ।
सेनाले यसरी थालेको काममा सबैले आफ्नो तर्फबाट हौसला प्रदान गर्नु आवश्यक पनि छ । नेपाली सेनाले पूर्वाधार निर्माणमा विगतदेखि नै योगदान दिँदै आएको छ । सेनालाई सुरक्षासँगै यसैगरी पूर्वाधार निर्माणमा जोड्दै लैजानुपर्ने देखिन्छ । नेपाली सेनाले आफूलाई पूर्वाधार निर्माणमा भरपर्दो र सक्षम सावित गरि पनि सकेको छ ।
अर्को विकासमा हातेमालो हुन पनि आवश्यक छ । त्यो हुन सकेन भने शीघ्र प्रगति हासिल हुन सक्दैन । त्यसकारण फास्टट्र्याक निर्माणमा अघि बढेको सेनालाई सरकार, स्थानीय निकाय, जनतालगायतका सबै सरोकारवाला निकायको सहयोग जरुरी छ । यो राजमार्ग समृद्धिको राजमार्ग हो । निर्धारित समयमै यसलाई निर्माण गरेर देशले फाइदा लिन सक्नुपर्छ ।

रिसव गौतम
लेखक