बाराको निजगढमा प्रहरीले नगरका विभिन्न स्थानबाट बरामद गरेको घरेलु मदिरा सोमबार दिउस नष्ट गरेको छ ।
निजगढ नगरपालीकाको रतनपुरी , लाल र सिंगौल क्षेत्रबाट सवारी साधनमा राखेर जिल्लाको जितपुर, सिमरा पथलैया र वीरगन्जतर्फ लैजाँदै गरेको अवस्थामा बरामद भएको करिव ४ सय ५ लिटर मदिरा प्रहरीले स्थानीय जनप्रतिधि र संचारकर्मीको रोहबरमा पोखेर नष्ट पारेको हो। विशेष सुकारको आधारमा प्रहरीले सवारी साधन चेक जाँच गर्दा सो मदिरा बरामद गरेको थियो ।
प्रहरीले निजगढ इलाका प्रहरी कार्यालय पछाडीको खाली स्थानमा खाल्टो खनेर सो मदिरा नष्ट पारेको थियो । सो क्रममा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्शन बडाल, निजगढ नगर उद्योग वाणिज्य संघको अध्यक्ष रामकृष्ण नेपाल, कार्यपालिका सदस्य पवन वि.क. र स्थानीय निजगढका संचारकर्मीहरु गोकुल घोरसाइने, जितलाल श्रेष्ठ, थानेश्वर सापकोटा, नवराज चौलागाई र प्रलाद तिमल्सिना लगायतको पनि उपस्थिति रहेको थियो ।
निजगढ नपाको रतनपुर, लाल, सिगौलमा मदिरा उत्पादन हुने र पूर्वबाट पश्चिम जाने यात्रुबाट पनि बरामद गरिएको जनाउँदै संलग्न व्यक्ति भने पहिचान नभएको र सम्पर्कमा पनि नआएको प्रहरीले जनाएको छ । अवैध घरेलु मदिरा उत्पादन र सेवक कार्यलाई निरुत्साहित पार्ने उद्देश्यले नियन्त्रणमा लिएर नष्ट पारिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।