मकवानपुरका बिद्यालय खुल्ने भएका छन् । भदौ २० गतेबाट जिल्लाका बिद्यालयहरु सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनाको जोखिमलाई मध्यनजर गर्दै संचालन गर्न सकिने भनि आज जिल्ला प्रशासन कार्यालयमा निर्णय भएको छ ।
शिक्षा विकास समन्वय इकाइ मकवानपुरले जिल्लाका स्थानीय तहलाई कोरोनाको जोखिम अनुसारको वर्ग छुट्याएर बिद्यालय खोल्न सकिने,नसकिने प्रतिवेदन बुझाएपछी जिल्ला प्रशासन कार्यालयले सोही अनुसारको बिद्यालय संचालन गर्ने अधिकार स्थानीय तहलाई दिएको हो ।
शिक्षा विकास समन्वय इकाइले बुझाएको प्रतिवेदनमा हेटौंडा उपमहानगरपालिका रेड जोनमा परेको छ । यो भनेको कोरोनाको बढी जोखिम रहेको क्षेत्र हो ।
जोखिम नदेखिएको अर्थात ग्रिन जोन जहाँ स्वास्थ्य मापदण्ड अपनाएर स्कुल खोल्न मिल्ने गाउँपालिकामा इन्द्रसरोबर, राक्सिरांग र कैलाश गाउँपालिका परेका छन् ।
बिद्यालय खोल्ने निर्णय भएपनि कोरोनाको जोखिम कायम नै भएकाले र रेड जोनमा र डार्क एल्लोमा पर्ने क्षेत्रका बिद्यालय के कसरि संचालन गर्ने भनि हेटौंडा उपमहानगरपालिकामा बैठक बसिरहेको छ ।
कुन क्षेत्रका बिद्यालयलाई कसरि संचालन गर्ने भन्नेबारे नगर शिक्षा समितिको बैठकले निर्णय गर्ने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।