केहि दिन देखि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीको अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो।
घर भत्किँदा अन्य दुई जना सामान्य घाइते भएका छन् भने अन्य दुई घरमा पनि सामान्य क्षति पुगेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए। सुवेदीका अनुसार उद्धारका लागि प्रहरी राति नै घटनास्थल पुगिसकेको छ।
त्यस्तै सुनिल ४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ। बस खोजीका लागि प्रहरी परिचालन गरिएको छ। स्थानीयका अनुसार उक्त बस विद्यालयको हो। केहिदििन देखी देशको अधिकाङ्श स्थानमा लगातार अविरल वर्षा भइरहेको छ ।
काठमाडौंमा तीन सय बढी घर डुब्यो
काठमाडौं उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण बाढी आएको छ । बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । खोला किनारका बस्ती डुबानमा परेका छन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।