खाँदबारी / सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
मादी नगरपालिका –१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए । साथै एक जना वृद्ध घाइते रहेको उनले बताए।लिंथेपका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको हो ।
घटना भएकाे बिहान नाै बजे थाहा पाएकाे र थाहा पाए लगतै प्रहरीलाइ खबर गरेकाे स्थानीयले बताएका छन् ।
घाइते भएका वृद्ध भने आँखा नदेख्ने र कान पनि सुन्न नसक्ने मादी नगरपालिका वडा नम्बर –१ का वडाध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए ।
घटना स्थलमा प्रहरी पुगे पनि उनीहरूको हत्या कसले गरेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै
एकै परिवारका छ सदस्यको भएको सामूहिक हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सङ्खुवासभा आउँदै गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको टोली तालिम प्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गर्नुभएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्नु छ घण्टा लाग्छ । घटनास्थल तेह्रथुम र सङ्खुवासभाको सिमानामा पर्दछ ।
सोमबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी मादी–१ का स्थानीयवासी ५८ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको थियो । तेजबहादुरको शव रोडको भित्तामा फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वतीको शव घरमै फेला परेको छ ।
तेजबहादुरकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको उहाँले बताउनुभयो । त्यस्तै तेजबहादुरका ११ वर्षीय नाति दिपेन र सात वर्षीया नातिनी गोमाको शव खरबारीमा प्रहरीले फेला परेको छ ।