खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिल परम्परा छ। हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलफूल डालीमा राखेर चन्द्रमा देखाएपछि दोष मेटिने मैथिल हिन्दू बताउँछन्।
भाद्र शुक्लपक्षको चौथीका दिन विशेष विधिपूर्वक चन्द्रमालाई फलफूल र मिष्टान्न परिकार देखाएर यो व्रत बस्दा अनाहक दोषबाट बचिने जनविश्वास छ।
यस पर्वका लागि घरको आँगनबीचमा लिपेर बनाइएको शुद्ध (वेदी) मा चन्द्रमालाई अर्घ्य दिइन्छ। साँझ चन्द्रमालाई खिर, पुरीसहितका मिष्ठान्न परिकार, दही, केराका घरी र अन्य फलफूल देखाएर अघ्र्य दिएपछि यो पर्व समापन गरिन्छ।
चौरचन पर्वमा इष्टजनलाई आँगनमा बनाइएको शुद्ध वेदीभित्र बसाएर प्रसाद ख्वाइने गरिन्छ। सबै जाति समुदायले मनाउने यो मिथिलाको मुख्य पर्वमध्ये मानिने गरेको छ।