कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा मंगलबार बिहान यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।
काँकडभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरका लागि सवार सु.प्र. ०२–००१ ख ११२३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशातर्फ सवार ना ६ ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा कञ्चनपुरका ३५ वर्षीय कृष्ण राना, कञ्चनपुरकै ४० वर्षीया रङ्गी तिरुवा र बर्दियाकी ७० वर्षीया योगमाया सुवेदी रहेको प्रहरीले जनाएको छ । बसमा चालक सहित २६ जना सवार रहेको बताइएको छ । ट्रकका चालक सहित बसमा सवार बाँकी २३ जना गरी जम्मा २४ जना घाइते भएका छन् । घाइतेहरू मध्ये ३ जनाको अवस्था गम्भीर, ७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।