काठमाडौं : वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६:५१ बजेको साइतमा गर्ने तयारी भएको छ।
इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ। इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। असोज ८ गते नानिचा यात्रा गरिनेछ। त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ।
कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।
जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ। तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउनुहुने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ। भदौ २३ गते बुधबार बिहान १०:५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो। त्यसै दिन बेलुकी बेलुकी ७:२७ मा लिङ्गोका लागि रुख काटिएको थियो। लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। भदौ २९ गते बिहान १०:३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको थियो।
इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्बदन्ती प्रचलित छ। एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास गरिने हनुमानढाकोका मूल पुरोहित देवराज अर्यालले बताए।