बकैया । देउवा सरकारले पछिल्लो समयमा सेनेटरी प्याडको कर बढाउदा देश भरी चर्को बिरोध भइरहदा बकैया गाउँपालिकाले भने विद्यालयहरुमा नि:शुल्क सेनेटरी प्याड वितरण गरेको छ ।
पछिल्लो समय देशभर सेनेटरी प्याडलाई निशुल्क गर्नपर्ने माग सहित दैनिक रुपमा नारा जुलुस भइरहेको छ । प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्ने भन्दै बहस चलिरहेको बेला मकवानपुरको बकैया गाउँपालिकाले भने गाउँपालिका भरका विद्यालयहरुमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षको योजना अन्तर्गत विद्यालयमा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्न थालिएको हो । ‘महिनावारीले सफलता नछेकोस्’ भन्ने हेतुका साथ गाउँपालिका अन्तर्गतका सबै माध्यमिक विद्यालयहरुमा मेसिन राख्न लागिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् ।
उनले भनिन्, ‘गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा १७ वटा सेनेटरी प्याड भेन्डिङ मेसिन खरिद गरेको थियो । कोरोना संक्रमणको कारण मेसिन जडान नभएकाले उक्त मेसिन अव जडान गर्न लागिएको हो ।’ बालमैत्री गाउँपालिका घोषण भएसंगै छात्राहरु महिनावारी हुँदा प्याडकै अभावले विद्यालय छुटाउन नपरोस भन्ने हेतुले विद्यालयमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको उपाध्यक्ष बोलखेले बताइन् । महिनावारी हुँदा छात्राहरु विद्यालय छोडेर घर जाने परिपाटीले पढाईमा असर पर्ने भएकोले निशुल्क सेनेटरी प्याड व्यवस्था गरेको उनको भनाई छ ।
गत आर्थिक वर्षको १९ लाख ७० हजार बजेटको उक्त योजनामा ११ लाख ठेक्का परेसंगै गाउँपालिकाले सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन खरिद गरेको थियो । गाउँपालिकाका रहेका ११ वटा मावि र बाकिँ विद्यालयका ५ वटा मेसिन तत्काल केहि दिनमै जडान गरिने गाउँपालिकाले जनाएको छ ।
आइतबार हात्तीसुँडेस्थित गाउँपालिका कार्यालयमा मेसिन जडान गरी परीक्षण गरिएको हो । विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरणलाई सरल, सहज र व्यवहारिक गराउन मेसिन जडान गर्न लागिएको हो ।
मेसिनमा दुई रुपैयाँको सिक्का राखेर प्याड लिन सकिनेछ । प्याड निःशुल्क वितरण गरिने हुँदा मेसिनमै सुरक्षित रहने उक्त सिक्कालाई प्रयोगकर्ताले पुनः प्रयोग गर्नेछन् । साथै, प्रयोग गरिसकेको प्याड नजिकै जडान गरिएको डिस्पोजल मेसिनबाट नष्ट गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ ।