बाराको निजगढ नगरपालिकामा स्वास्थ्य बिमाको दर्ता कार्य हिजोबाट शुरु भएको छ ।
बिमा दर्ता सहयोगीले निजगढ नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा वडा अध्यक्ष रामजी बजगाईलाई परिचय पत्र दिएर बिमा दर्ता कार्य प्रारम्भ गरेका हुन । बिमा दर्ता सहयोगीहरुले वडा अध्यक्ष बजगाईलाई दर्ताको परिचय पत्र प्रदान गर्दै कार्यक्रम शुरु गरेका हुन ।
बिमा कार्यक्रममा सहभागी बिमितहरुले औषधि र उपचार सेवामा स्वास्थ्य बिमा बोर्डले तोके अनुसारको सहुलियत पाउनेछन । ५ जनासम्मको परिवार भएको बिमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेपछि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत प्रदान गरिने तोकिएका सबै सुविधा निःशुल्क पाउने वडा अध्यक्ष बजगाईले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत बिमितले ओपिडी, इमरजेन्सी, अन्तरंग, एक्स रे, इसिजी, अल्ट्रासाउण्ड, एमआरआइ, सिटी स्क्यान, रगतको जाँज, शल्यक्रिया, एपेन्डीक्स तथा पत्थरीको शल्यक्रियामा सेवा प्राप्त गर्ने छन । त्यसैगरी चस्माको मुल्य, श्रवणयन्त्र, सेतो छडी र बैशाखी सेवा समेत प्राप्त हुने छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकुको सहयोगमा संचालन भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजगढ नगरपालिकाभित्र प्रतेक वडामा १/१ जना बिमा सहयोगीहरु खटाइएको र उनीहरुले सर्वसाधारणको घरघरमा पुगेर बिमा दर्ता गर्ने वडा अध्यक्ष बजगाईले जानकारी दिनुभयो । नेपाल सरकारको सहयोगमा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम यो वर्षबाट निजगढ नगरपालिकामा पनि शुरु भएको हो ।
त्यस्तै बिमा दर्ता सहयोगीले निजगढ नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा वडा अध्यक्ष टेकबहादुर लामा , वडा नम्बर ९ को वडा कार्यालयमा वडा अध्यक्ष सुदर्शन बडाललाई समेत परिचय पत्र दिएर बिमा दर्ता कार्य सुरु गरेका हुन ।