बारा । राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए । उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसी राख्न कुनै औचित्य छैन।’
त्यस्तै उनले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए प्रदर्शनको क्रममा, इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउत विरुद्ध चर्को नाराबाजी लगाइएको थियो ।
विश्वका अधिकांश देशमा आज मदरसामाथि प्रतिबन्ध लागिरहेको बेला हिन्दू देशमा मदरसा शिक्षा विधयेक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेलिन लागिएको अभियानका विभिन्न वक्ताहरुले आरोप लगाए । त्यस्तै विरोध कार्यक्रममा अभियानका अभियन्ता गोपाल दास, परमानन्द साह, ब्रिजकिशोर साह, कमलेश सहनी, अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का संयोजक विवेक कुशवाहा,पर्सा जिल्ला संयोजक श्याम किशोर तिवारी लगायतको उपस्थिति रहेको थियो।