काठमाडौँ, असोज १८–
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तरगत लिग चरणको अन्तिम खेलमा चितवन टाइगर्स पराजित भएको हो । जारी प्रतियोगितामा चितवनको पहिलो हार हो । लगातार चार खेलमा जित हात पार्दै चितवनले प्ले अफमा स्थान पक्का गरि सकेको छ ।
टियु क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा भैरहवा ग्लाडियटर्स ६ विकेटले विजयी भयो । चितवन टाइगर्सले दिएको १६५ रनको लक्ष्य पछ्याएको भैरहवाले १३ बल बाँकी छदै ४ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि प्रदीप ऐरीले सर्वाधिक ४३ बलमा ७२ रन र तमिम इकबालले ३० बलमा ४० रन बनाए । यस्तै उपल थरङगाले १९ बलमा अविजित ३९ र रोहित पौडेलले एक रन बनाए । आरिफ शेख १ रनमा आउट भए भने कुशल मल्ल १ रनमा अविजित रहे ।
चितवनका लागि करिम जन्नतले २, सागर ढकाल र भीम सार्कीले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ रोजेको चितवनले ८ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । उसका लागि करिम जन्नतले ३५, मोहम्मद शहजादले ३२, सेकुग्गे प्रशन्नले २४, भीम सार्कीले १६, राजेश पुलामीले १४ र दीलिप नाथले १३ रन बनाए । देव खनाल ५, खडक बोहरा १ रन बनाए भने कमल सिंह ए्ेरी ७ र गौतम केसी शून्यमा अविजित रहे । उत्कृष्ट पारी खेलेका प्रदीप ऐरी म्यान अफ दि म्याच घोषित भए ।
आजको जितसंगै भैरहवा ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । उसले अब लिग चरणका एक खेल खेल्न बाँकी छ । भैरहवाको अन्तिम भिडन्त काठमाडौं किंग्स ११ संग हुनेछ ।