काठमाडौँ,१८ असोज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेको भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसएसपी) संजीव शर्मा दासले बताए ।
“भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायीहरु हड्तालमा उत्रेका छन् ,” उनले भने । व्यवसायीहरुले रिङ्गरोड बाहिर सबैतिर जाम गरेका उनको भनाइ छ । अहिले चक्रपथ क्षेत्रमा सवारी जाम भएको छ । चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन् ।
तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ । बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प छ । बस ठप्प भएपछि यात्रुहरु अलपत्र परेका छन् ।