काठमाडौँ, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।
प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ ।
राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका कारण उनले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ ।