पोखरा,२५ असोज । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ ।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीपमा चालकसहित १० यात्रु सवार रहेका र जीप चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीयवासीका अनुसार एक जनाको जीवितै उद्धार गरिएको छ ।
मृतकहरुको सनाखत हुन सकेको छैन । दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको बताइएकाे छ । काठमाडौंबाट घान्द्रुक घुम्न आएकाहरु दुर्घटनामा परेका बताइन्छ ।
मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । ७ मृतकको सनाखत हुन भने बाँकी छ ।