बारा — बारा कोल्हवीका बद्री अधिकारी दसैंको अष्टमीको दिन सिमराबाट आफन्त लिएर घर फर्कंदै थिए । तामागढी–कोल्हवी सडक खण्डको चारकोसे जंगलमा पर्ने भीम सखुवामा उनी दुर्घटनामा परे । विपरीत दिशाबाट आएको २ जना सवार बा४९प १२७० नम्बरको मोटरसाइकसँग उनको बा१९च ४५११ नम्बरको कार ठोक्किएको थियो ।
बाइकमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनेमा कोल्हवी–२ का ३८ वर्षीय पेमा दोर्जे लामा र ४० वर्षीय बाबु तामाङ थिए । कार चालक अधिकारीसहित त्यसमा सवार अन्य पनि घाइते भए । अधिकारी अहिले प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटनामा कार चालक र बाइकमा सवार मृतक एउटै टोलका थिए, जसका कारण टोल नै शोकमग्न भयो । ‘दुर्घटनाले मन सिरिंग भयो,’ ९ वर्षपछि काठमाडौंबाट दसैं मान्न गाउँमा आएका कोल्हवी–२ निकास टोलका रामकृष्ण काफ्लेले भने, ‘असावधानी र हतारले धेरै ठूलो मानवीय क्षति भयो । पर्वमा टोलवासी शोकाकुल भएर बस्नुपर्यो ।’ प्रहरीका अनुसार दुवै गाडी तीव्र गतिमा र अनियन्त्रित हुँदा दुर्घटना भयो ।
तीन दिनअघि राति ११ बजे वीरगन्ज–पथलैया सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भोल्हीमा ट्यांकर र कार ठोक्किँदा कारका चालकसहित त्यसमा सवार अन्य २ गरी ३ जना भारतीयको मृत्यु भयो । ना३ख ७५९४ नम्बरको ट्यांकर र बीआर ०६ सी क्यू ४१४१ नम्बरको कार ठोक्किएको थियो । मृत्यु हुनेमा बिहार मोतिहारीका राजन सर्राफ, सुरज प्रसाद र कृत सिंह छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार १५ दिनयता (दसैं अवधिभर) प्रदेशका ८ वटै जिल्लामा २ सय ५८ सवारी दुर्घटना हुँदा ४० जनाको ज्यान गएको छ । १ सय ६ जना गम्भीर घाइते भएर उपचाररत छन् भने ३ सय २ जना सामान्य घाइते भएका छन् । ३ सय ८५ वटा सवारी दुर्घटनामा परेका छन् । प्रदेश प्रहरी कार्यालयका ट्राफिक प्रहरी नायब उपरीक्षक सन्तु जयसवारका अनुसार अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको छ । ‘चाड, मेला र भेलामा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा पनि दुर्घटना भएका छन्,’ उनले भने ।
सवारीसाधनको बढ्दो चाप, बिग्रेको सडक, ट्राफिक नियमको पालनामा कमी, मादक पदार्थ सेवनपछि लापरबाहीपूर्वक गाडी चलाउने प्रवृत्तिले मानवीय क्षति बढिरहेको उनको भनाइ छ । ‘हामी सकेसम्म यस्तो दुर्घटना न्यूनीकरणको प्रयास गरिरहेका छौं,’ जयसवारले भने, ‘लापरबाही नगरे र सडक व्यवस्थित भए दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’