पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिना नपुग्दै ६ पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका छन् ।
चालु आवमा गत आवको जिम्मेवारी सरिआएका सात गरी कूल १३ पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । विसं २०७४ भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी देवानी (संहिता) ऐन कार्यान्वयनमा आएपछि जिल्लामा हरेक वर्ष महिलाकै सङ्ख्यामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गर्न थालेका छन् ।
पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेदका घटना निकै बढेका छन् । पतिले पत्नीको दोष देखाएर र पत्नीले पतीको दोष देखाएर अलग भएर बस्न चाहेको भन्दै सम्बन्धविच्छेद गराउन चाहनेको सङ्ख्यामा बढ्दै गएको अदालतको तथ्याङ्कले देखाउँछ । गत वर्ष ३० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । मुद्दा दर्ता गराउनेमा १८ महिला थिए ।
गत वर्ष दर्ता भएका सात मुद्दाको मात्र फैसला भएको ज्ञवालीले बताए । चालु आवमा हालसम्म एउटा मुद्दाको फैसला भएको छ । आव २०७५/७६ मा ४३ सम्बन्धविच्छेदका मुद्दा दायर भएकामा १५ पुरुषले आफू पीडित भएको भन्दै मुद्दा दायर गरेका थिए ।