बारा ,कार्तिक २३ । प्रदेश २ बाराको निजगढमा छठ पर्व पुजाको तयारी पूरा भएको छ । निजगढको बकैया खोलाको जलाशयमा छठ पर्वको तयारी पूरा भएको निजगढ छठ पूजा समितिका अध्यक्ष हृदयनारायण शाह रौनियारले जानकारी दिए ।
नेपालको मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । जस अन्तर्गत बाराको निजगढ लगायत आसपासका शहर र ग्रामीण क्षेत्रमा छठ पर्व मनाउन थालिएको छ ।
अध्यक्ष शाहले विगत तीन दिनदेखि छठ घाटको निमार्णलाई तीव्रता दिइएको र छठको घाट सजाउने कार्य पूरा भएको जानकारी दिए । गत वर्ष कोरोना महामारीका कारण सामान्यरुपमा छठ पर्व मनाइएको बताउँदै यस वर्ष स्वास्थ्य मापदण्डको पालना गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाउने तयारीमा रहेको उनको भनाइ छ ।
निजगढ नगरपालिका कार्यलय निजगढको अनुमतिमा छठको घाट तयारीमा जुटेको अध्यक्ष शाहले प्रेसचित्र डटकमलाई जानकारी दिए । निजगढमा रहेको बकैया खोलामा छठघाट करिब ७०० फिटको दूरीमा निर्माण भएको समितिले जनाएको छ । सो छठको घाटमा ५ सय व्रतालु र हजार भन्दा बढी श्रद्धालुले अवलोकन र दर्शन गर्ने समितिको अनुमान छ ।
सोमबार देखि अर्थात कात्तिक शुक्ल चतुदर्शी देखि छठ प्रारम्भ भइसकेको छ । छठ पर्वको पूजन सामग्रीको किनमेलका लागि निजगढ बजार लगाएत जितपुर बजारमा भीड लागेको पाइएको छ । यसका लागि केरा, स्याउ, फलफूल, कागती, अदुवा, माटोका भाँडाकुँडा, पतौरा, बाँसका सुपली, ढकिया, मिष्टान्न, मैदा, चिनी, सखर, अगरबत्ती, दियो लगायतका पूजन सामग्रीको किनमेल भइरहेको छ ।
छठ पुजाको लागी भनेर निजगढ नपाले गत बर्ष कुनै आर्थिक बिनियोज नगरेको र आगामी दिनमा आर्थिक सहयोगको अपेक्षा गरेको अध्यक्ष शाहले बताए ।