काठमाडौं। गहुँ छर्ने सिजनमै सरकारी कम्पनीको मल भण्डार रित्तिने क्रममा बढेको छ ।
हिउँदेबाली गहुँ र तरकारी खेतीका लागि करीब १ लाख २५ हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भएता पनि सरकारी अनुदानको मल विक्री गर्दै आएका दुई सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडसँग मलको भण्डार निकै न्यून रहेकोछ ।
कर्पोरेशनसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग करीब साढे १५ हजार मेट्रिकटन मात्र मलको मौज्दात छ । गहुँबालीका लागि किसानलाई डीएपी मलको आवश्यकता पर्छ । तर, कृषि सामग्रीसँग ३ सय मेट्रिकटन मात्रै डीएपी मल मौज्दात छ भने युरिया मल पनि १५ हजार मेट्रिकटन मात्रै मौज्दात रहको बताइएको छ ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले मलको भण्डारण रित्तिने क्रममा भए पनि मल बाटोमा आउने क्रममा रहेकाले अभाव हुन नदिने प्रयास भइरहेको बताए । उनका अनुसार साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीको २५ हजार मेट्रिकटन युरिया र २५ हजार मेट्रिकटन डीएपी बाटोमा आयातको क्रममा रहेको छ ।