तराईका जिल्लामा शितलहरसँगै चिसाे बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ ।
भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् ।
चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् ।
स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी चिसोका कारण बढेको लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका अहेव भोजराज पोखरेलले बताए ।
गौतमबुद्ध मुटु अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।
सिरहामा वृद्धाको मृत्यु
त्यस्तै विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।
घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए । यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।