दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरो भएको छ ।
आज भएको सेमीफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी युएईसंग ६८ रनले पराजित हुँदै नेपाल विश्वकप छनोटबा बाहिरिएको हो । नेपाललाई पराजित गरेसंगै युएई अष्ट्रेलियामा यसैवर्ष हुने विश्वकपमा छनोट हुन सफल भएको छ । अर्को खेलमा ओमानलाई पराजित गर्दै आयरल्याण्ड विश्वकप नजिक पुगेको छ ।
युएईले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा १०७ रनमै अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए भने आरिफ शेखले ११ रन बनाए । ओपनर आशिफ शेख र लोकेश बम खाता नखोल्दै आउट भए भने अन्य व्याटरले दोहोरो अंक जोड्न सकेनन् । युएईका कप्तान अहमद राजाले सर्वाधिक ५ विकेट लिए भने जुनेदले महत्वपूर्ण ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको युएई ७ विकेटको क्षतिमा १७५ रनको विशाल योगफल बनाएको थियो । उसका लागि मोहम्मद वसीमले ७०, वृत्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७ रन बनाए । नेपालका लागि जितेन्द्र मुखिया र अभिनाश बोहोराले समान ३/३ विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।