काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।
उनको बुधबार बिहान निधन भएको हो । हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी)का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो । दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए । उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । साथै उने थुप्रै मौलिक लोकगीत गाएका छन् । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।
पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।