ग्रीन भेन्चर्स लिमिटेडले यही २ फागुनदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट प्रभावित बासिन्दाले यही २३ फागुनसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ३१ करोड २५ लाख मूल्यबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्थानीयवासीका लागि बिक्री खुला गरेको थियो । ओखलढुङ्गा र रामेछाप जिल्लामा रहेको आयोजनाआसपासका बासिन्दाले १६ फागुनसम्म आवेदन दिनुपर्ने अन्तिम म्याद तोकिएकोमा सो अवधिसम्म मागबमोजिम आवेदन प्राप्त नभएका कारण आवेदनको समय २३ फागुनसम्म थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब १२ करोड ५० लाखको १० प्रतिशतका दरले १०० रुपैयाँ अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित बासिन्दाबाट शेयर खरिद गर्न दर्खास्त आह्वान गरेको थियो ।
कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नं ७ मा केन्द्र रहेको कूल ५२ दशमलव ४ मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत १२ अर्ब ८ करोड रुपैयाँ हुने जनाएको छ ।
आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि दर्खास्त दिन पाउनेछन् । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।