काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।
कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जनाएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत तीन अर्ब ८२ करोड दुई लाख ८३ हजार लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । उनले यो अवधिमा कोषले एक हजार ९ सय ६८ सहकारी संस्था, २६ बैंक तथा वित्तीय संस्थामा लगानी गरेको बताए । यसैगरी कोषले १३ हजार ७ सय ६५ व्यवसायीको ब्याज अनुदानअन्तर्गत १५ करोड ३३ लाख ५ हजार रुपैयाँ वितरण गरेको थियो । यसैगरी कर्जा व्यवस्थापन शुल्कअन्तर्गत ३८ हजार लाभग्राही व्यवसायी रहेकोमा सो शीर्षकअन्तर्गत एक करोड ९० लाख ६९ हजार पाँच सय कर्जा व्यवस्थापन भुक्तानी गरेको जनाएको छ । यसैगरी एक हजार ६१ व्यवसायीको बिमा क्षतिपूर्तिवापत ६ करोड २४ लाख ४५ हजार रुपैयाँ तिरेको जनाएको छ ।
श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान बेरोजगारी समस्याको समाधानाका लागि बेरोजगार युवालाई स्वरोजगारका अवसर सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ अनुसार २०६५ सालमा यो कोष स्थापना गरिएको थियो । कोषले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट रकम प्राप्त गरी परिचालन गर्नसक्ने कोषको स्थापना गरिएको हो । कोषले पुँजीको अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ । कोषले आर्थिक रूपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपांगता भएका व्यक्ति द्वन्द्वपीडित, पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिव किसानलाई, परम्परागत सीप भएका युवालाई स्वरोजगार कार्यक्रम सञ्चालन गर्न कर्जा उपलब्ध गराई आर्यआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज उद्देश्य रहेको जनाएको छ ।
कोषका काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम, तराई–मधेस स्वरोजगार कार्यक्रम, नियमित स्वरोजगार कार्यक्रम, कोसी इकोनोमिक करिडोर, भेरी–कर्णाली करिडोरलगायतका कार्यक्रम सञ्चालन छन् । कोषले व्यावसायिक खेती तथा पशुपंक्षीपालन, दुधजन्य व्यवसाय, माछापालन, कृषि तथा वनजन्य उद्योग, घरेलु तथा साना उद्योग तथा अन्य व्यापार व्यवसाय, सहर र बजार क्षेत्रमा रिक्सा, विद्युतीय रिक्सा, ठेलागाडा सेवा सञ्चालनलगायतका सेवामूलक स्वरोजगार व्यवसायमा युवालाई ऋण सहयोग गर्दै आएको छ ।