निजगढ,१३ चैत्र ।
निजगढ निलो निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत आईतबार सम्पन्न दोश्रो खेलमा बकुलिया एघार बारालाई ३—० गोल अन्तरले पराजित गर्दै निजगढ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निजगढको जितमा कप्तान समन कुमरले चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १—० गोल अन्तरले अघि रहेको निजगढले दोश्रो हाफमा थप दुई गोल थप्यो । ५९ औ मिनेटमा समीर तामाङले गोल गर्दै निजगढको अग्रता दोब्बर बनाए ।
बकुलियाले खेलमा फर्कने थुप्रै प्रयास गरेपनी सफल हुन सकेन । ६५ औ मिनेटमा बकुलियाले पेनाल्टी मार्फत गोल गर्ने राम्रो अवशर प्राप्त गरेपनी रामयोध्या चौधरी चुक्न पुगे । रामअयोध्याले प्रहार गरेको पेनाल्टी निजगढका गोलरक्षक रबिन बस्नेतले बचाउन सफल भए । निजगढका प्रीन्स गुरुङले डि बक्सभित्र फल गरेपछी बकुलियाले पेनाल्टी प्राप्त गरेको थियो ।
बकुलियाको कमजोर डिफेन्स लाईनलाई तोड्दै निजगढका समीर तामाङले अतिरिक्त थप गरिएको समयमा व्यक्तिगत दोश्रो गोल गर्दै निजगढलाई ३—० गोल अन्तरको जित दिलाए । खेलको म्यान अफ द म्याच निजगढका समीर तामाङ घोषित भए । म्यान अफ द म्याच घोषित तामाङले ट्रफी सहित दुई हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार निजगढ रातो र बारा एघार बिच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडिया खेल मैदानमा जारी खेल अपरान्ह ३ बजेपछी शुरु हुनेछ ।