नेकपा एमालेका मधेश प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ ।
बारा क्षेत्र नम्बर १ क बाट मधेस प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका श्रेष्ठले हिजो एक विज्ञप्ति मार्फत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको हो । श्रेष्ठसंगै पार्टी जिल्ला कमिटी सदस्य गोपाल लम्साल र अर्का नेता स्थानीय यमबहादुर (नारायण) खडकाले पनि पार्टी परित्यागको घोषणा गर्नुभएको छ । लम्साल र खडका प्रदेश सभा सदस्य श्रेष्ठको प्रस्तावक र समर्थक बस्नु भएको थियो ।
पार्टीले प्रदेश सभाको लागि कार्यकर्ता र जनताको भावना विपरित टिकट वितरण गरेकोले आफूले पार्टीबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनुभएको छ । नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहनुभएका श्रेष्ठले प्रदेश सभा सदस्य टिकटको आकांक्षी रहनुभएको थियो । पार्टीले अर्का नेता त्रिलोकी चौधरीलाई पुन टिकट दिएपछि श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पार्टीले स्थानीय नेता कार्यकर्ता र जनभावना विपरीत टिकट वितरण गरेकोले आफूले विद्रोह गर्नु परेको श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साविक निजगढ गाँउपालिकाका अध्यक्ष समेत रहनुभएका श्रेष्ठ निजगढका विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेर लामो समयदेखि पार्टीको राजनीति र समाजसेवामा पनि क्रियाशील हुदै आउनुभएको छ । यसैबीच निर्वाचन आयोगकोको कार्यालयले श्रेष्ठलाई हिजो जेब्रा चुनाव चिन्ह प्रदान गरको छ ।
यसअघि श्रेष्ठले स्थानिए तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । तर पछि संघिय निर्वाचनमा प्रदेशको टिकट पाउने आश्वासन पछि उनि पछि हटेका थिए । पार्टीले स्थानीय नेता, कार्यकर्ता र भौगोलिक हिसाबले टिकट वितरण नगरेकोमा निजगढका कार्यकर्ताहरुमा असनतुष्टी रहि आएको छ ।