बसन्त लामा, सिंगौल | निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौलमा रहेको टाँसी धार्गेलिङ बौद्ध गुम्बामा हिजो हुने भनिएको साधारणसभा बिना निष्कर्ष टुङ्गिएको छ ।
हिजोको लागि साधारण सभाको सुचना प्रकाशन गरिएको भए पनि व्यवस्थापन समितिका सदस्यहरु नै अनुउपस्थित भएपछि साधारण सभा हुन नसकेको हो । पटक पटक दबाव दिएपछि साधारण सभा गर्ने भनेर सुचना प्रकाशित गरेको भए पनि गुम्बा व्यवस्थापन समिति कै जिम्मेवार व्यक्तिहरु उपस्थिति नहुदा साधारण सभा नभएर त्यसै घर फर्किनु परेको वडा नम्बर ३ का वडा सदस्य बुरगान थोकरले बताउनुभएकोछ ।
गुम्बा निर्माण भएको ३८ बर्ष पुरा भएको छ तर हालसम्म एकपटक पनि साधारण भने आयोजना गरिएको छैन । पहिलो पटक साधारण सभा गर्ने भनेर मिति निर्धारण गरिएको भए पनि व्यवस्थापन समितिका सदस्यहरु नै कार्यक्रममा अनुपस्थित भएपछि सभा अन्यौलमा परेको हो । साविक भरतगज सिंगौल वडा नम्बर ४ मा राप्रपाका नेता स्वर्गीय टेकबहादुर योन्जनको पहलमा सो गुम्बा २०४१ सालमा स्थापना भएको थियो । स्थानीयले बर्षौदेखी बौद्ध गुम्बा संरक्षण बिहिन रहेको, गुम्बाको नजिकै अर्को नयाँ गुम्बा स्थापना भएकोे र गुम्बा निर्माणमा भएको खर्चसमेत सार्बजानिक नभएको बताएका छन ।
गुम्बाको नाममा ३ बिघा १३ कठा जग्गा रहेको र सो जग्गा केरा खेति गर्नको लागि भाडामा दिएको तर आम्दानी र खर्चको हिसाब किताब पारदर्शी नभएको पनि स्थानीयको गुनासो छ । जग्गा भाडाको आम्दानी हालसम्म पनि सार्बजानिक नगरिएको गुम्बा समितिका उपाध्यक्ष हिरालालले बताउनुभएको सिगौलबाट हाम्रा सहकर्मी बसन्त लामाले जानकारी दिनुभएको छ ।