नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनालीले पटक पटक सत्तामा पुग्दा पनि देश र जनताको पक्षमा काम गर्न नसक्ने पार्टीलाई जनताले मत दिन जरुरी नभएको बताउनुभएको छ । नेकपा एमालेले निजगढमा शुक्रवार आयोजना गरेको बारा क्षेत्र नम्बर १ ‘क’ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता मैनालीले सो कुरा बताउनुभएको हो ।
‘नेपाली कांग्रेशले पटकपटक सत्तामा पुग्दा पनि देश र जनताको पक्षमा काम गर्न सकेने, उम्मेदवार मैनालीले भन्नुभयो, जनताको पक्षमा काम नै गर्न नसक्ने पार्टीलाई भोट दिन जरुरी छैन ।’ उहाँले सरकारको नेतृत्व गर्दा जनपक्षयी काम गर्ने एउटा मात्रै पार्टी एमाले नै भएको बताउनुभयो । वृद्धभत्ता, युवा रोजगारी, सुकुम्बासी समस्या समाधान, आफ्नो गाउँ आफै बनाऔं जस्ता काम एमालेको पालामा नै सुरु भएको बताउदै कांग्रेशले मौका पाउदा पनि केही काम गर्न नसकेको बताउनुभयो । उम्मेदवार मैनालीले एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा गरेका कामहरुको विवरण लिएर जनता जान र एमालेको पक्षमा मत माग्न कार्यकर्ताहरुसंग आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एंव नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले कांग्रेसको अकर्मण्यता र नितिहिनताका कारण देशमा विकास हुन नसकेको बताउनुभयो । ‘कांग्रेश आफूलाई सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टीको दाबी गर्छ,, नेता पौडेलले भन्नुभयो, तर उसले जहिले पनि लोकतन्त्रको घाटी निमोठने काम गरेको छ ।’ उहाँले राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै रहेको नेता पौडेले दाबी गर्नुभयो ।
नेपालमाथि भारतले नाकाबन्दी गर्दासमेत बोल्न नसक्ने कांग्रेश पार्टीबाट देशको रक्षा र जनताको हित गर्ला भनेर सोच्नु गलत भएको उहाँको भनाइ थियो । राष्ट्र र जनताको हितको लागि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार त्रिलोकी चौधरी, समानुपातिकतर्फ संघीय सांसद उम्मेदवार अन्जु नेपाली, मधेस प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरी, एमाले मधेस प्रदेश कमिटी सदस्य ढुण्डिराज उप्रेती, अम्बिका चौलागाई, सुदर्शन कोइराला, जिल्ला कमिटी सदस्य दिलबहादुर लामा, लिला लामिछाने, नेकपा एमाले सहकारी विभाग केन्द्रीय सदस्य टेकबहादुर चौलागाईलगायतले बोल्नुभएको थियो ।
क्षेत्रीय कमिटी संयोजक रामजी बजगाईको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन निजगढ नगर कमिटी सचिव तिलक घलानले गर्नुभएको थियो ।