प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आइतवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो बर्षको छठ पर्व सम्पन्न हुन्छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छठको व्रत कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
बाराको निजगढमा पनि छठको तयारी पुरा
त्यस्तै प्रदेश २मा रहेको बाराको निजगढमा छठ पर्व पुजाको तयारी पूरा भएको छ । निजगढको बकैया खोलाको जलाशयमा छठ पर्वको तयारी पूरा भएको निजगढ छठ पूजा समितिका अध्यक्ष हृदयनारायण शाह रौनियारले जानकारी दिए ।
नेपालको मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । जस अन्तर्गत बाराको निजगढ लगायत आसपासका शहर र ग्रामीण क्षेत्रमा छठ पर्व मनाउन थालिएको छ ।
अध्यक्ष शाहले विगत तीन दिनदेखि छठ घाटको निमार्णलाई तीव्रता दिइएको र छठको घाट सजाउने कार्य पूरा भएको जानकारी दिए । कोरोना महामारीका कारण सामान्यरुपमा छठ पर्व मनाइएको बताउँदै यस वर्ष स्वास्थ्य मापदण्डको पालना गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाउने तयारीमा रहेको उनको भनाइ छ ।
निजगढमा रहेको बकैया खोलामा छठघाट करिब ७०० फिटको दूरीमा निर्माण भएको समितिले जनाएको छ । सो छठको घाटमा ५ सय व्रतालु र हजार भन्दा बढी श्रद्धालुले अवलोकन र दर्शन गर्ने समितिको अनुमान छ ।
कात्तिक शुक्ल चतुदर्शी देखि छठ प्रारम्भ भइसकेको छ । छठ पर्वको पूजन सामग्रीको किनमेलका लागि निजगढ बजार लगाएत जितपुर बजारमा भीड लागेको पाइएको छ । यसका लागि केरा, स्याउ, फलफूल, कागती, अदुवा, माटोका भाँडाकुँडा, पतौरा, बाँसका सुपली, ढकिया, मिष्टान्न, मैदा, चिनी, सखर, अगरबत्ती, दियो लगायतका पूजन सामग्रीको किनमेल भइरहेको छ ।
छठ पुजाको लागी भनेर निजगढ नपाले गत बर्ष कुनै आर्थिक बिनियोज नगरेको र आगामी दिनमा आर्थिक सहयोगको अपेक्षा गरेको अध्यक्ष शाहले बताए ।