बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई तेस्रो पटक ६ दिन म्याद थप गरिएको छ ।
बयान लिने कार्य र अन्य अनुसन्धान समेत बाँकी रहेकोले म्याद थप गर्न प्रहरीले श्रेष्ठलाई जिल्ला अदालत बारामा उपस्थित गराएको थियो । तेस्रो पटकको लागि थप म्याद मागेर अदालतमा पठाइएकोे इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो ।
गत पुष १६ गते पक्राउ परेका वडा अध्यक्ष श्रेष्ठलाई हिरासतमा राखेर निजगढ प्रहरी अनुसन्धान गर्दै आएको छ । यसअघि पहिलो पटक ७ दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले दोस्रो पटकको लागि भने जिल्ला अदालतबाट १० दिनको म्याद पाएको थियो । दोस्रो पटक लिएको म्याद पनि पुरा भएको तर अनुसन्धान प्रकृया पुरा नभएकोले अदालतबाट थप म्याद मागिएको निरीक्षक ओलीले जानकारी दिनुभयो । फरार सुचीमा रहेका श्रेष्ठ पक्राउ परेपछि निजगढ प्रहरीले हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान गर्दै आएको छ । दोस्रो पटक लिएको म्याद हिजो नै पुरा भएको भए पनि सरकारी विदाले गर्दा अदालतसमेत बन्द भएकोले अध्यक्ष श्रेष्ठको अनुसनधामा आज अदालतमा पेस गरेर म्याद मागिएको निरीक्षक ओलीले जानकारी दिनुभयो ।
गत असोज १९ गते छिमेकी किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप श्रेष्ठमाथि लागेको छ । पीडित किशोरीले वडा अध्यक्ष श्रेष्ठविरुद्ध गत असोज २५ गते इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् । घटनापछि फरार वडाध्यक्ष श्रेष्ठ ३ महिनापछि आफै प्रहरीमा हाजिर हुन आएका थिए ।