प्रलाद तिमल्सिना , बारा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालमा मधेस प्रदेशबाट भ्रष्टाचार निर्मुल पार्ने बताउनुभयो ।
बाराको निजगढ नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री यादवले भ्रष्टाचार गर्ने कर्मचारीलाई मधेश प्रदेशबाट सिधै हटाईदिने बताउनु भयो । उहाँले मधेस प्रदेशमा विकासको सबैभन्दा ठूलो बाधक भ्रष्ट्राचार नै भएकोले त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो । वहाँले मधेश प्रदेशमा केहि दिनमै बाँकी रहेको मन्त्रालय पनि विस्तार हुने बताउनु भयो ।
निजगढ नगरपालिकाले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सहित बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, प्रदेश सभामा समानुपातिक तर्फकी सांसद मिनाकुमारी लामा र राजपतिदेवी जैसवाललाई निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले कदरपत्रसहित सम्मान गर्नुभएको हो ।
सोही कार्यक्रममा बोल्दै संघीय सांसद मैनालीले नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै विकासको लागि सबै राजनीतिक दलका कार्यकर्ताहरु एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले क्षेत्रको विकासको लागि आग्रह पूर्वाग्रहबीच सबैसंग सहकार्य गरेर अघि बढने पनि बताउनुभयो ।
मुख्यमन्त्री सरोज कुमार यादव मुख्यमन्त्री भएपछि उहाँको निर्वाचन क्षेत्रको यो पहिलो भ्रमण हो । बाराको निजगढ, कोहल्वी, सिम्रौनगढ लगायत नगरपालिकाले बाराबाट र यहि क्षेत्रबाट मुख्यमन्त्री पाएकाले सम्मान कार्यक्रमहरु तय गरिएको छ ।