कोभिड १९ ले पारेको प्रभाव र त्यसको सम्बोधनमा स्थानीय तहमा सरोकारवालाहरुको भूमिका बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम हिजो बाराको निजगढ़मा सम्पन्न भएको छ ।
निजगढ नगरपालिका वडा न ८ मा राष्ट्र निर्माण मन्च नेपालको आयोजना, ओपन सोसाईटी फाउण्डेशनको सहयोग र निजगढ नगरपालिकाको समन्वयनमा कार्यक्रम आयोजना गरिएको हो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम राष्ट्र निर्माण मंचका अध्यक्ष तथा अधिबक्ता निर्मल उप्रेतीले कोभिड १९ का कारण समाजमा पारेको प्रभाव तथा कोभिडको समयमा समाजले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै आगामी दिनमा आउन सक्ने अन्य विपद कार्यमा स्थानीयतहले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाको नगर प्रमुख पुरीले विपद आउँदा समाजका हरेक क्षेत्रमा आवद्ध रहेका व्यक्तिहरुले सहयोगको भावना राख्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले निजगढ नगरपालिकाले बिपद कार्यको न्यूनीकरण, रोकथाम तथा तत्काल उद्दार गर्न सक्नेगरी ऐन निर्माण गरेर अगाडि बढ्ने बताउनुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाको उप-प्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, संस्थाका मधेश प्रदेश संयोजक प्रविन उप्रेती , निजगढ नगरमा रहेका बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि एवं संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले विपद जोखिम न्यूनीकरणको लागि नगरपालिकाले एउटा छुट्टै कोष खडा गरेर कार्यविधि अनुसार संचालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम निजगढ ८मा रहेको होटल तारा ईनको सभाहलमा भएको थियो र कार्यक्रमको संचालन सुमन न्यौपानेले गर्नु भएको थियो ।