बारा दुग्ध उत्पादक सहकारी संघले दुधको मुल्यबृद्धिको माग गरेको छ ।
फागुन १ सम्म दुधको मूल्य वृद्धि नगरिए बाराका किसानले आन्दोलन गर्ने चेतावनी दिएका छन । निजगढमा हिजो पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुले किसानले दुधको उचित मुल्य नपाएको भन्दै यसै कार्यक्रमको मार्फत दुधको मुल्य अभिलम्ब बढाउन आग्रह गरे ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सचिव एंव निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले सरकारले १ वर्षअघि तोकेको ५६ रुपैया समर्थन मूल्य अत्यन्त न्युन भएको र यसबीचमा पशु आहार र अन्य सामाग्रीमा भएको मूल्य वृद्धिको आधारमा किसानले उत्पादन गरेको दुधको मूल्य पनि निर्धारण गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टिकाराज न्यौपाने, संस्थाका कर्मचारी एंवं दुध उत्पादक दिपक घिमिरे, बागदेव दुग्ध उत्पादन सहकारी संस्थाका पूर्वअध्यक्ष थानेश्वर सापकोटा, कोषाध्क्ष मोहन सापकोटा लगायतले लागतमा झण्डै ३५ देखि ४० प्रतिशतसम्म मूल्य वृद्धि भएकोले सोही अनुसार दुधको भाउ पनि बढाउनुपर्नेमा जोड दिएका थिए । दुधको मूल्य अत्यन्त कम भएकोले पशुपालक किसानलाई बचाउन पनि सरकारले तत्काल भाउ बढाउनुपर्ने उनीहरुको भनाइ थियो ।
बारामा हाल सम्म १० वटा सहकारीले दुग्ध उत्पदान सम्बन्धी काम गदै आइरहेका छन भने दैनिक ५० हजार लिटर भन्दा बढी दुध उत्पादन भइरहेको छ ।