- प्रलाद तिमल्सिना
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर स्थित सिटि मार्केटमा आइतबार बिहान आगलागी हुँदा पाँच वटा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ र अन्य चार पसलका केहि भाग जलेको छ ।
स्थानीय व्यवसायीको रेडिमेड कपडा पसलमा विधुत हुँदा आगलागी सुरु भएको हो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगो निभाउन अमलेखगंजस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो, जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबाट दमकल आएका थिए । अधिकांश कपडा पसल रहेको उक्त मार्केटमा आगलागी सुरु भएलगत्तै स्थानीय व्यवसायीले प्रहरी र दमकललाई खबर गरेका थिए ।
प्रहरीका अनुसार बिहान ६ बजे सुरु भएको आगलागी करिब ९ बजे नियन्त्रणमा आएको थियो । करिब तीन घण्टासम्म लागेको आगोले करिब ६०–७० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए ।
बारा क्षेत्र न ४ को सांसद किसान श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, वडा न ७ जीतपुरको वडा अध्यक्ष सुनिल गुप्ता, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा घटना स्थलमै पुगेर व्यापारीहरूलाई सान्त्वना दिएका थिए ।
पछिल्लो समय भारतको रक्सौलमा किनमेल गर्न जाने नेपालीहरु रक्सौलकै अनुरुपमा जितपुर बजारमा पाउने भएपछि जितपुर बजारको आवजजावतमा बढ्दो छ । जितपुर बजारमा स्थानिय, हेटौँडा, पथलैया, निजगढ, चन्द्रनिगाहपुर, हरिवन, लालवन्दी समेतका व्यापारीहरुले होलसेल सामनहरु किनमेल गर्न आउने गरेको पाइन्छ ।