चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि निजगढ नगरपालिकाले पुनः दोस्रो पटक बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ ।
नगरकार्यपालिकाको हिजो बसेको बैठकले दोस्रोपटकको लागि १५ दिनको समयसीमा राखेर बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो । नगरपालिकाले यसअघि आह्वान गरेको मितिभित्र ठेक्का साकार गर्न कुनै व्यक्ति वा संस्थाले कबोल नगरेपछि ठेक्का लाग्न सकेको थिएन ।
पहिलो सूचनामा कसैले पनि बोलकबोल नगरेपछि फेरि आह्वान गर्ने निर्णय भएको नगरपालिका कार्यालयका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो । उहाँले दोस्रो पटकको लागि १५ दिनको समय राखेर सूचना सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो । नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७९÷०८० को लागि गत पुष २४ गते ३० दिनको समयसीमा राखेर इ–बिडिङ्गमार्फत ठेक्काको लागि बोलपत्र आह्वान गरेको थियो ।
कार्यालयले बकैया, धन्सार, शक्ति र लाल खोलाबाट १ करोड ५६ लाख १४ हजार घनफिट गिटी, बालुवा र ढुङ्ग उत्खनन, संकलन तथा बिक्री गर्नको लागि न्यूनतम १२ करोड ४९ लाखमा ठेक्का आह्वान गरेको हो । नदीजन्य पदार्थ उत्खनन विरुद्ध उच्च अदालत वीरगन्जले जारी गरेको निषेधाज्ञा आदेशका कारण यो वर्षको लागि समयमा नै ठेक्का आह्वान गर्न नसकेको निजगढ नगरपालिका कार्यालयले रिट निवेदन खारेज भएपछि टेण्डर आह्वान गरेको थियो । तर गृहमन्त्रालयमार्फत नदीजन्य पदार्थ उत्खनन र क्रसर उद्योग संचालनमा गत महिना केही समय रोक लगाइएपछि निजगढ नगरपालिकको नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रभावित बनेको छ ।
मन्त्रालयको परिपत्र अनुसार एक महिनाअघि केही समयको लागि बन्द गरिएका देशभरीका क्रसर उद्योग र बालुवा वासिङ्ग प्लान्ट हाल खुल्ला गरिए पनि कारोबार राम्रोसंग चल्न नसकेको व्यवसायीहरुले बताएका छन ।