बाराको निजगढ नगरपालिकाले सिँचाई सुविधाको अभाव रहेका नगरका सबै क्षेत्रमा सिँचाई सुविधा उपलब्ध गराउने उद्देश्यले अध्ययन सुरु गरेको छ । बिहिबार नगर प्रमुख सुरथ पुरी उप-प्रमुख सोममाया थिङ सहित डिभिजन सिँचाई कार्यालय बाराका निमित्त प्रमुख एवम इन्जिनियर हसमद अन्सारी सहितको टोलीले नगरका विभिन्न नदी र खोल्सीहरुको स्थलगत भ्रमण गरेर आयोजना संचालन गर्ने बारेमा प्रारम्भिक अध्ययन र स्रोत सर्भेक्षण गरेको हो । निजगढको सबै क्षेत्रमा सिँचाई सुविधा पुर्याउने उद्देश्यले अध्ययन सुरु गरिएको नगर प्रमुख पुरीले बताउनुभयो ।
त्यसैगरी डिभिजनल ईन्जिनियर अन्सारीले सिँचाईको लागि निजगढमा राम्रो शंभावना भएको बताउनुभयो । उहाँले लालबकैया र शक्ति खोला मुख्य स्रोतको रुपमा रहेको भए पनि नगरका अन्य साना खोलामा पनि सोही अनुसारका योजना निर्माण गरेर सिँचाईमा प्रयोग गर्न सकिने बताउनुभयो ।
टोलीले निजगढ मोहोरी ४ र १० को बकैया, १२ को बुङ्गजोर खहरे, गडुवान, १३ को भक्तलाल र शक्तिखोलाको स्थलगत निरीक्षण गरेको थियो । वडा नम्बर १ मा पर्ने धन्सार खोलाको भने अर्को पटक निरीक्षण तथा अध्ययन गरिने बताइएको छ ।
उपप्रमुख सोममाया थिङ्गको अनुसार समय अभावको कारण धन्सार खोलामा सिचाईको अध्ययन गर्न जान पाइएको पुन अर्को पटक विज्ञ टोलीलाई बोलाएर निरिक्षण गरिनेछ । नगरपालिकाले धन्सार खोलाबाट पनि निजगढ नगरपाकिलाको १, २ र ३ मा सिँचाई सुविधा पुर्याउने गरी योजना संचालन गर्ने बताएको छ । टोलीमा निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ सहित स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।