हालै सम्पन्न भएको दारी ग्याङले रुपन्देहीको बुटवलमा राष्ट्रिय सम्मेलन गरि नयाँ नेतृत्व चयन गरेको छ । फागुन ६ र ७ गते बुटवलमा भएको अधिवेशननले दीपेश सिग्देलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जगदीश भण्डारी, सचिवमा मधुसुधन काफ्ले, सहसचिवमा अभिमन्यू पाण्डे र कोषाध्यक्षमा वसन्त पहारीलाई सर्वसहमतिमा चयन गरिएको छ। यसैगरि सदस्यहरुमा प्रदेश १ बाट विपुल पोखरेल र नुतन ढकाल, मधेस प्रदेशबाट इश्वर दाहाल, लुम्बिनीबाट असल सुवेदी, बागमतीबाट प्रशान्त आचार्य, गण्डकीबाट सुमन कार्की र सुदुरपश्चिमबाट दिनेश बोहोरा चयन भएका छन् ।
बाँकी १ सदस्य कार्य समितिले पछि मनोनित गर्ने बताइएको छ । यसअघि फेसबुक ग्रुपमा मात्र सिमित रहेको दारी ग्याङलाई संस्थागत र संरचनागत अभ्यास मार्फत संगठित गरेर राष्ट्रिय सम्मेलन गरि नयाँ कार्य समिति चयन गरिएको निवर्तमान अध्यक्ष प्रदीप गैरेले जानकारि दिए ।
अब देशव्यापी रुपमा साधारण सदस्यता वितरण गरि जिल्ला र प्रदेशमा समेत संगठन विस्तार गरि अघि बढ्ने नव–निर्वाचित अध्यक्ष दीपेश सिग्देलले बताए । सात वर्ष अघिदेखि फेसबुक ग्रुपको रुपमा युवाहरु माझ लोकप्रिय रहेको दारी ग्याङले विभिन्न सामाजिक काम गर्दै आएको छ । देशभरका ४९ जिल्ला र देश बाहिर समेत दारी ग्याङका समूहहरु सक्रिय छन् भने दारी ग्याङको फेसबुक ग्रुपमा १ लाख भन्दा बढी युवाहरु जोडिएका छन् । सुरुमा दारी पाल्न रुचाउने युवाहरु मात्र आवद्ध यो ग्रुपमा पछिल्लो समय सामाजिक भावनाका साथ सामाजिक गतिविधिमा सक्रिय अरु थुप्रै युवाहरु पनि जोडिएका छन् ।
दारी ग्याङ्गका अध्यक्ष हुनु भएका सिग्देल निजगढ वडा नं ७ निवासी हुन । हाल उनी काठमाडौमा ग्राफिक डिजाइनको काम गर्ने गर्दछन ।