बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बाराको निजगढको लालबकैया र शक्ति खोला सिचाइको लागी मुहानको निरीक्षण गर्नु भएकोछ ।
मुख्यमन्त्री यादवले निजगढ ४ को बकैया र निजगढ १३ को शक्ति खोलामा सञ्चालित सिँचाई आयोजनालाई थप विस्तार गरेर कमाण्ड एरिया विस्तार गर्ने लक्ष्यका साथ प्राविधिक टोलीसहित नदीको मुहान निरीक्षण गरेका हुन् ।
निरीक्षण क्रममा मुख्यमन्त्री यादवले नेपालमा जलस्रोतको दृष्टिले विश्वकै दोस्रो धनी देश भएपनि यसको सही प्रयोग गर्न नसक्दा अपेक्षित विकास हुन नसकेको बताए । आफू मुख्यमन्त्री बनेपछि बारा जिल्लाका सबै नदीहरुको अवस्थाको बारेमा अध्ययन गरेर ती नदीहरुलाई सिँचाईमा कसरी प्रयोग गर्न सकिन्छ भनेर प्राविधिकहरुलाई अध्ययन गर्न लगाएको पनि उनले जानकारी दिए । निजगढमा सिँचाई सुविधा विस्तारको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
सो अवसरमा अवसरमा मुख्यमन्त्री यादवले किसानलाई मलको अभाव हुन नदिन प्रदेश सरकार आफैले साल्टट्रेडिङ्ग कर्पोरेशनसंग मल खारिद गर्ने तयारी गरेको पनि जानकारी दिए ।
निजगढका नगर प्रमुख सुरथ पुरीले बकैया र शक्ति खोला हाल संचालनमा रहेको बाघभैरव लाल गाउँ र रतनपुरी सिँचाई आयोजनाबाट निजगढमा पर्याप्त सिँचाई सुविधा पुग्न नसकेको जानकारी गराउँदै बढी क्षमताको नयाँ आयोजना संचालनको लागि मुख्यमन्त्री यादव समक्ष माग गरेका थिए । उनले सिंगौलको धन्सार सिँचाई र वडा नम्बर १२ मा रहेका साना खोलाहरुको पानीलाई पनि सिँचाईमा प्रयोग गर्ने गरी आयोजना संचलन गर्न मधेस प्रदेश सरकारसंग आग्रह गरे ।
‘निजगढमा सम्बृद्धिको आधार भनेको नै सिँचाई सुविधाको विस्तार हो,’ नगर प्रमुख पुरीले भने, विद्यमान स्रोतको सही उपयोग गरेर सिँचाई विस्तार गर्न सकियो भने कृषि उत्पादन दोब्बरले वृद्धि हुन्छ र नगरबासीको जीवनमा सम्बृद्धि पनि आउछ ।’
निरीक्षण टोलीमा मुख्यमन्त्री यादवसहित बारा क्षेत्र नम्बर १(१) का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, निजगढ नगरपालिकाका नगर प्रमुख पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी खनाल लामिछाने, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइराला, राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य दिपिका साह लगायतको सहभागिता रहको थियो ।