माझी समुदायले मनाउने लदी (नदी) पूजाको अवसरमा मङ्गलवार निजगढमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल माझी उत्थान संघका बारा जिल्ला अध्यक्ष रामबहादुर माझीको अध्यक्षतामा निजगढ ७ स्थित माझी टोलमा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएकी निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले नेपालका सबै जाति र समुदायको उन्नति हुदामात्रै देशको पनि उन्नति हुने बताउनुभयो । उहाँले नेपाल बहुजातीय र बहुसांस्कृति देश भएको बताउदै राज्य संचालनका सबै क्षेत्रमा उनीहरुको समान पहुँच हुनुपर्ने पनि बतााउनुभयो ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ८ का स्वर्ण लामा, वडा नम्बर ९ का अध्यक्ष रामचन्द्र कटुवाल, वडा नम्बर ७ का वडा सदस्य बुद्धिबहादुर राना मगर, समाजसेवी सावित्री भारती, चन्द्रिका मगर, बासुदेव तिमल्सिना, निजगढ वडा नम्बर ८ का पूर्ववडा अध्यक्ष टेकबहादुर लामा लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा माझी समुदायका स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
त्यसैगरी सोही पर्वको अवसरमा जीतपुरसिमरा वडा नम्बर १६ को टाँगियाबस्तिमा पनि सो समुदायले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन । जीतपुरसिमरा उपमहानगरपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा डुमरवाना कलेज व्यवस्थापन समितिका अध्यक्ष अनिल मैनाली, टाँगियाबस्ति सरोकार समितिका संयोजक रमेश सापकोटा लगायत स्थानीय समाजसेवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।