युथ अफ निजगढले आज निजगढमा प्रि–होली म्युजिकल कन्सर्ट आयोजना गर्ने भएको छ ।
निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा दिउसो २ बजेबाट सुरु हुने नवौं संस्करणको सो कन्सर्टको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । कन्सर्टमा चर्चित गायिका मिलन नेवार र लोकप्रिय हास्याकलाकार शिवशंकर जोगिन्दार (पान वाला) ले गीत तथा प्रहशन प्रस्तुत गर्ने युथ अफ निजगढकी अध्यक्ष उषा थापा मोक्तानले जानकारी दिनुभयो । प्रायोजक र टिकट बिक्रीबाट संकलन भएको रकम क्लबले निजगढ नगरमा विपद् प्रभावित परिवारको राहतमा सहयोग गर्ने अध्यक्ष थापा मोक्तानले बताउनुभयो ।
कन्सर्टमा सहभागी हुने सर्वसाधारण दर्शकको सुविधा निम्ति १०० रुपैया दरको टिकट (शुल्क) राखिएको पनि जनाइएको छ । क्लबले विगत १० वर्ष अघिदेखि हरेक साल होली पर्वको पूर्वसन्ध्यामा निजगढमा म्युजिकल कन्सर्ट संचालन गर्दै आएको छ ।
यसैबीच सोहि अवसरमा युथ अफ निजगढ र मेची महाकाली संयुक्त बुहारी आवाजको आयोजनामा आज बिहान ७ः३० बजे सहिद चोकमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको क्लबकी अध्यक्ष थापा मोक्तानले जानकारी दिनुभयो ।