बोधिश्रवण धर्म संघ बाराले आगामी चैत ७ गते निजगढमा महामैत्री दिवस मनाउने भएको छ ।
शान्ति, सहजीवन, सहअस्तित्व, सहवास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षका निम्ति बोधिमार्ग दर्शन मैत्री धर्मले निजगढको रतनपुरमा महामैत्री दिवस मनाउन लागेको हो । बोधिश्रवण धर्म संघ बाराले निजगढबाट चैत्र ७ गते सुुरु गरी ८ गते निजगढको रतनपुरमा महामैत्री दिवस कार्यक्रम सम्पन्न गर्ने जनाएको छ ।
कार्यक्रम अनुसार चैत ७ गते बिहान ११ बजेबाट निजगढको पूर्वपश्चिम राजमार्गको भमरा पूलदेखि तामागढीसम्म महामैत्री शान्ति पद यात्रा, सोही दिन बेलुका ६ बजेबाट विश्व शान्ति महामैत्री पूजा, प्रार्थना, जप, ध्यानबत्ती अर्पणको कार्यक्रम रहने बताइएको छ । यस्तै ८, ९ र १० गते बिहान ६ बजेबाट बिभिन्न स्थानमा पुनः विश्व शान्ति महामैत्री पूजा, प्रार्थना, जप, ध्यानबत्ती अर्पण गरिने छ भने दिनको १ बजेबाट माआत्मा गुरुहरुबाट धर्म देशना कार्यक्रम, आमन्त्रित पाहुनहरुबाट मन्तव्य र साँझ ७ बजेबाट तपस्वी रामबहादुर बमजनको तपस्यास्थल रतनपुरीमा विश्व शान्ति महामैत्री दीप प्रज्वलन कार्यक्रम गरी मैत्री दिवस मनाउने तयारी गरिएको बोधिश्रवण धर्म संघ बाराका अध्यक्ष राजु साहले जानकारी दिनुभयो ।
सत्यलाई कसैले पनि इन्कार गर्न नसक्ने अमर तथ्य बुझेर सत्यमार्गमा समाहित हुन महामैत्री दिवस मनाउन लागिएको अध्यक्ष साहले बताउनुभयो । उहाँले पवित्र अनुष्ठानमा सबैलाई सहभागी हुन आग्रह समेत गर्नुभयो । तपस्वी भनिएका रामबहादुर बमजनलाई धर्मगुरु बनाउदै उहाँका अनुयाहीहरुले सुरु गरेको बोधिश्रवण धर्म स्थापना भएको १७ वर्ष पुरा भएको अवसरमा संघले महामैत्री दिवस मनाउन लागिएको हो ।
तपस्वी रामबहादुर बमजन (महा सम्बोधि धर्मसंघ गुरु)का अनुयाहीहरुले सुरु गरेको बोधिश्रवण स्थापना भएको १७ वर्ष पुरा भई १८ वर्षमा प्रबेश गरेको हो ।