बोधिश्रवण धर्म संघ बाराले हिजो निजगढमा महामैत्री दिवसको असरमा शान्ति पैदलयात्रा गरेको छ । निजगढको पूर्वपश्चिम राजमार्गको भमरा खोला पुलमा भेला भएको पैदलयात्रीहरुले निजगढ नगर परिक्रमासहित यात्रा गरेका हुन ।
पैदल यात्रामा बारा, पर्सा, रौतहट, सलाही र मकवानपुरका समेत गरी हजारौंको सहभागिता रहेको थियो । पैदलयात्रामा सरिक भक्तजनहरु मंगलवार नै तपस्या स्थलमा पुगेर विश्व शान्ति महामैत्री पूजा, प्रार्थना, जप, ध्यान र बत्ती अर्पण कार्यक्रममा सहभागी बनेका थिए । तिन दिनसम्म चल्ने सो कार्यक्रममा सोमवार बिहान पुनः विश्व शान्ति महामैत्री पूजा, प्रार्थना, जप, ध्यान र बत्तीअर्पण गरिने छ भने सोही दिउसो १ बजेबाट धार्मिक गुरुहरुबाट धर्म देशना कार्यक्रम हुने र पाहुनहरुबाट मन्तव्य तथा साँझ ७ बजेबाट तपस्वी रामबहादुर बमजनको तपस्यास्थल रतनपुरीमा विश्व शान्ति महामैत्री दीप प्रज्वलन कार्यक्रम गरी मैत्री दिवस मनाइने बोधिश्रवण धर्म संघ बाराका अध्यक्ष राजु साहले जानकारी दिनुभयो ।
शान्ति, सहजीवन, सहअस्तित्व, सहवास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षको निम्ति बोधिमार्ग दर्शन मैत्री धर्मले तपस्वी रामबहादुर बोम्जनको पहिलो तपस्या स्थल निजगढको रतनपुरमा महामैत्री दिवस मनाउन लागेको हो । सत्यलाई कसैले पनि इन्कार गर्न नसक्ने अमर तथ्य बुझेर सत्यमार्गमा समाहित हुन महामैत्री दिवस मनाउन लागिएको अध्यक्ष साहले बताउनुभयो । तपस्वी भनिएका रामबहादुर बम्जन (महा सम्बोधि धर्म संघ गुरु) का अनुयायीहरुले सुरु गरेको बोधिश्रवण धर्म स्थापना भएको १७ वर्ष पुरा भई १८ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम गर्न लागिएको हो ।