सिमरा, १७ चैत्र | जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधी उचाल्ने दाउमा हुनेछन् ।
जारी सिजनमा दुबै टिम उपाधीविहिन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुबै टिम उपविजेता रहन पुगे ।
मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुबै टिम उपाधीविहिनताको अवस्थाको अन्त्य गर्न चाहन्छन् । दुबै टिमका लागि यो उपाधी निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सम्पन्न भएलगत्तै ए डिभिजन लिगको छैठौं चरणका खेल सोमबारदेखि सुरु हुँदैछन् ।
काठमाण्डौ पुगेर लिगको यात्रा थालनी गर्न आफूहरुका लागि जीतपुरसिमराको उपाधीले उर्जा थप्ने टिमका कप्तान तथा प्रशिक्षकको भनाई छ । लिगमा अपराजित रहेको चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई पहिलो सहभागितामै उपाधी उचालेर जीतपुरसिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगिताको उपाधी लिएर लिगको सुरुवात गर्न चाहन्छन् । ‘यो उपाधी हाम्रो लागि निकै महत्वपूर्ण छ । हामीसंग राम्रो टिम छ तर उपाधी जित्न सकेका छैनौं’ हुमागाईले भने ‘टिममा उर्जा र दर्शकमा उत्साह थप्न यो उपाधी जित्नै पर्नेछ । हामीले जित्ने गरी खेल्नेछौं ।
बि डिभिजनबाट बढुवा भएर आएपछि उत्कृष्ट फूटबल प्रदर्शन गर्दै आएको चर्च ब्वाईजले जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो । एपीएफ र एनआरटीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको चर्च ब्वाईजले इतिहास रच्न शेर्पाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।
दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता शेर्पा जीतपुरसिमरा गोल्डकपका लागि परिचित टिम हो । लामो समयदेखि निरन्तर सहभागिता जनाउदै आएपनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुरसिमरामा सुखद् नतिजा प्राप्त गर्न सकेको थिएन् । फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको शेर्पा दोस्रो पटक उपाधी उचाल्ने अवसर खेर फाल्न चाहदैन् । शेर्पाका टिम मेनेजर विजेन्द्र पुडासैनीले उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको प्रतिकृया दिए ।
पत्रकार सम्मेलनमा उपस्थित हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ र चर्चका कप्तान मिलन राईले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको बताए ।
शनिवार साँझ सिमरा रङ्गशालाको फ्लड लाईटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादबको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
जीतपुरसिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता
२०७८ | न्युरोड टिम एनआरटी |
२०७७ | संकटा क्लब |
२०७५ | थ्रीस्टार क्लब |
२०७४ | त्रीभूवन आर्मी |
२०७३ | संकटा क्लब |
२०७२ | विजय युथ क्लब हेटौंडा |
२०७१ | त्रिभुवन आर्मी क्लब |
२०७० | नव जनजागृति युवा क्लब सिमरा |
२०६९ | मनाङ मस्र्याङदी क्लब |
२०६८ | मनाङ मस्र्याङदी क्लब |
२०६७ | हिमालयन शेर्पा क्लब |
२०६६ | मजदुर सहिद स्मृति क्लब |