निर्वाचन आयोगले उपचुनावको सबै तयारी पुरा भइसकेको जनाएको छ । आयोगले वैशाख १० गतेका लागि तय उपचुनावमा सुरक्षा तयारीदेखि मतदानस्थलसम्मलाई व्यवस्थित पारेको दाबी पनि गरेको छ । निर्वाचन निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबैको साथ मागेको आयोगलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले भने बुथ कब्जा हुने दाबीसहित तरङ्ग पैदा गरिदिएका छन् ।
तनहुँ १, चितवन २ र बारा २ मा उपचुनाव हुँदैछ । वैशाख १० गते अर्थात आइरबार हुन लागेको उपचुनावमा सुरक्षा व्यवस्थादेखि सबैखाले तयारी पुरा गरिसकेको निर्वाचन आयोगको दाबी छ । तर, जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टी (जसपा)ले बुथ कब्जाको तयारी गरेको भन्दै विभिन्न मतदान केन्द्रको नाम नै सार्वजनिक गरिदिएका छन् । केहि समयपहिले मात्रै माओवादी केन्द्र छाडेका शिवचन्द्र कुशवाह जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।
यसअघि झण्डै ३ सय मतान्तरले पराजित भएका शिवचन्द्रलाई निर्वाचित गराउन सीके बारामा केन्द्रित छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सोहि क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारको रुपमा छन् । यसकारण सीकेले उपेन्द्रलाई रोक्न आफ्नो पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गराएका छन् ।
उता उपेन्द्रले पनि आफूसँग प्रतिष्पर्धा गर्न लायक उम्मेदवार नै नभएको दाबी गर्दै आएका छन् । मधेसमा आफ्नो वर्चस्व कायम गर्ने होडमा रहेका यी नेता र पार्टीहरुबीच गज्जबको आरोप–प्रत्यारोप चलिरहँदा सीकेले जसपाले बुथ कब्जा गर्ने तयारी गरेको आरोप लगाएका छन् ।
के सीकेले भनेजस्तै बुथ कब्जाको तयारी भएकै हो त ? यो गम्भीर आरोप र सोचनिय विषय हो । सीकेले विभिन्न केन्द्रको नामै किटेर बुथ कब्जा हुनसक्ने केन्द्रको निर्वाचन र त्यसको निगरानी राख्न पत्रकारलाई चुल्हे निम्तो नै दिएका छन् ।
प्रहरी प्रशासनलाई समेत जसपाले मिलाएर राखेको भन्दै गम्भीर आरोप लगाएका सीकेले भारतसँग जोडिएका गाउँहरुका निर्वाचन केन्द्रमा बुथ कब्जा हुने दाबी गरेका छन् । सीकेले फर्जि मतदानदेखि इच्छाइएको व्यक्तिबाट हुने मतदानलाई रोक्न आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । सीकेले बुथ कब्जा हुने भन्दै सार्वजनिक गरेका केन्द्रमा सेना परिचालनको माग समेत गरेका छन् ।
बाराका यी बुथ कब्जाको आशंकामा
देवताल–२ गमहरिया
देवताल–३ झिटकैया
सुवर्ण गा.पा. – ७ सनफुलवा
सुवर्ण गा.पा. – ३ सतगंज÷जमुनिया
पचरौता न.पा. – ४ बेलदारी
करैयामाई गा.पा. – ३ गालोपट्टी वजनी
सीकेले यी क्षेत्रमा जसपाले बुथ कब्जाको तयारी गरेको गम्भीर आरोप लगाएपछि आयोगले यो विषयमा सार्वजनिक रुपमा केहि नभने पनि सुरक्षा प्रबन्ध मिलाएको दाबी गरेको छ । दलका नेताहरुले निर्वाचन आफ्नो पक्षमा पार्न विभिन्न हत्कण्डा अपनाउन सक्ने खतरा पनि उत्तिकै हुने हुनाले मतदानमा खासै समस्या सिर्जना नहुने सुरक्षा निकाय र आयोगको दाबी छ ।