प्रलाद तिमल्सिना , बारा
बाराको सुवर्ण गाउँपालिकामा प्रहरी र विद्यार्थीबीच झडप हुदाँ ४ जना प्रहरी घाइते भएका छन । झडपको स्थिति नियन्त्रणमा लिन प्रहरी २ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।
सुवर्ण गाउँपालिका स्थित श्रि नेपाल राष्ट्रिय मा वि हर्दिया अवरैया प्रशुरामपुरको प्रधानाध्यापक सहित अन्य केही शिक्षकलाई एक अर्को विद्यालयमा हेरफेर गर्दा विद्यार्थीलाई उचालेर आक्राशित बनाई आन्दोलनको नाममा तोडफोड गराउनमा केही शिक्षकहरू उद्दत देखिएको पालिका अध्यक्ष राजेश राय यादवले जानकारी दिए ।
विद्यार्थीले गाउँ कार्यपालिका र विद्यालयमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा दुवैबीच झडपको अवस्था आएको प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिनु भयो । प्रहरीले तोडफोड रोक्न खोज्दा विद्यार्थीले प्रहरीमाथि ढंगामुढा गरेको थियो । त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।
दुवै पक्षले रक्षा र प्रतिरक्षा गर्न खोज्दा सुवर्ण गाउँपालिकामा बिहानैदेखि तनावको स्थिति सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिन जिल्लाको अन्य ठाउँबाट समेत नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
आन्दोलनकारीहरूले गाउँपालिकाको कार्यालयमा ताेडफाेड गर्दा छ वटा मोटरसाइकल, कार्यालयको कम्प्युटर, फर्निचरलगायतका सामानमा क्षति पुगेकाे प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास चलाएको प्रहरी नायव उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिनु भयो । आन्दोलनकारीहरूको आक्रमणबाट केही प्रहरी घाइते भएका डीएसपी पाण्डेले बताउनुभयाे ।