पूर्वपश्चिम राजमार्ग सडकको स्तरोन्नतिको लागि निजगढमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तावित पूर्वपश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया खण्डको १३० किमी सडक स्तरोन्नति आयोजनाको परिचय र वातावरणीय प्रभाव मुल्याङ्कन प्रभावको सारंंससमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै निजगढ नगर प्रमुख सुरथ पुरीले सो सडक गेमचेन्जर योजना भएको बताउनुभयो । एशियाली मापदण्डको सडक निर्माण पुरा भएपछि देशको विकासमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने बताउदै उहाँले सडक निर्माणको लागि निजगढमा नाला व्यवस्थापनलाई विशेष ख्याल गर्नुपर्नेमा आयोजनाको ध्यानाकर्षण गराउनुभएको थियो ।
संघीय सरकारले विश्व बैङ्क र एशियाली विकास बैङ्कको सहयोगमा पूर्वको कमलादेखि पथलैयासम्मको १३० किमी क्षेत्रको सडक हालको २ लेनबाट ५० मिटर चौडा ४ लेनमा स्तरोन्नति गर्न लागेको हो । आयोजना कार्यान्वयनको क्रममा सडक क्षेत्रभित्र पर्ने निजगढमा एकएक वटा निजी घर, पेट्रोल पम्प र सार्वजनिक शौचालय, मन्दिर तथा ६ वटा सार्वजनिक प्रतिक्षालय, २ वटा बरपिपल चौतारा, इलाका प्रहरी कार्यालय निजगढको पर्खाल भत्काइने सो अवसरमा सडक विभागकी इन्जिनियर रमा श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराकि उप-प्रमुख चण्डिका उप्रेती ,निजगढ नगरप्रमुख सुृरथ पुरी,कोहल्बी नगरप्रमुख राम प्रसाद चौधरी निजगढ नगर उप-प्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्थानीय राजनितिक दलका प्रतिनिधिहरु र सर्वसाधारण सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम निजगढ नगरपालिकाको सभाहलमा भएको थियो ।