भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ ।
दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृत्रिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य सङ्कलन गरी देशका विभिन्न जिल्लामा पठाउने गरिएको छ ।
कार्यालयमार्फत गाईभैँसी र बाख्राको शुद्ध नश्ल सुधारका लागि वीर्य सङ्कलन गर्दै आइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष पोखरा कार्यालयबाट मात्रै करिब छ लाख डोज वीर्य सङ्कलन गरेर विभिन्न जिल्लामा पठाइएको थियो । त्यसवर्ष लहान कार्यालयबाट तीन लाख डोज र नेपालगञ्ज कार्यालयबाट ५० हजार डोज वीर्य वितरण गरिएको थियो ।
पोखरा कार्यालयले वीर्य सङ्कलन एवम् वितरणबाट वार्षिक तीन करोड ९६ लाख राजस्व सङ्कलन गरेको उनले बताए । कार्यालयले अघिल्लो वर्षको तुलनामा यसवर्ष ३३ प्रतिशत डोज वीर्य थप्ने उद्देश्य राखेको छ ।
अघिल्लो वर्ष गाईभैँसी र बाख्रा गरी पाँच लाख ७१ हजार डोज वीर्य सङ्कलन गरिएको थियो । जसबाट रु पाँच करोडको हाराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । चालु आवको चैतसम्म रु तीन करोड सङ्कलन भइसकेको जनाइएको छ ।
पछिल्ला समयमा नश्ल सुधारसँगै किसान पाडापाडी, बाच्छाबाच्छी हुर्काउनेतर्फ लागेको डा पाण्डेयले बताए । नश्ल सुधारले हिजोप्रति बेत ७/८ सय लिटर दूध दिने भैँसीले अहिले २७/२८ सय लिटरसम्म दूध दिन थालेको उनले बताए ।
भैँसीमा वंश सुधार कार्यक्रमले प्रतिवेत ३८/३९ सय लिटरसम्म दूध दिन थालेको जानकारी दिँदै उनले भारतबाट ल्याउने भनिएका मुर्रा प्रतिवेत चार हजारदेखि चार हजार दुई सय लिटरसम्म दूध दिने बताए । भैँसीले प्रतिवेत औसतमा ३०५ दिन दूध दिने अनुमान गरिन्छ ।
“वर्षौँदेखिको नश्ल सुधारको प्रयासका लागि मुर्रा जातका राँगा आउन लागेको हो”, उनले भने, “जेनेटिक मेटेरियल आउनु सामान्य कुरा होइन, यो आफैँंमा अमूल्य छ ।” मुर्रा आउने भएसँगै पोखरा कार्यालयले तिनीहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ । नश्ल सुधार प्रयोजनका लागि ल्याइने पशुलाई ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा राख्ने प्रचलन छ । आउन लागेका मुर्रा राँगाका लागि क्वारेन्टिइन सेलहरू तयार गरिसकेको र गोठ तयारी अवस्थामा रहेको उनले बताए ।
अन्य देशबाट ल्याउँदा आवश्यक प्रक्रिया अपनाउनुपर्ने बताउँदै उgले सुरुमा प्राविधिक टोली पुगेर ल्याउन लागिएका मुर्राबारे आवश्यक जाँचबुझ गर्ने जानकारी दिए । प्राविधिक टोलीले ल्याउन लागिएका राँगमा कुनै रोग छ वा छैन, अण्डकोषको अवस्था कस्तो छ, कसरी हिँड्छ आदिबारे पूर्णरुपमा जानकारी लिने र रोग नभएका अवस्थामा सम्बन्धित देशको आधिकारिक पशु चिकित्सकबाट प्रमाणित गरेर मात्रै ल्याउने प्रचलन छ । डेढ महिनाभित्रमा आउने भनिए पनि यकिन मिति भने तय नभएको उनले जानकारी दिए ।
उनका अनुसार पोखरामा हाल रहेका १२ वटा राँगोमध्ये आठ वटाबाट वीर्य सङ्कलन भइरहेको छ । पोखरास्थित पशुप्रजनन कार्यालयमा ५८ वटा साँढे र राँगा छन् । जसमध्ये ३१ वटाबाट वीर्य सङ्कलन भइरहेको र २७ वटा हुर्कदो अवस्थाका छन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) को सहयोगमा अमेरिकाबाट ल्याइएका छवटा साँढेमध्ये पोखरामा चारवटा रहेको र तिनीहरूबाट हप्ताको दुई दिन वीर्य सङ्कलन गर्दै आएको छ ।
किसानलाई पशुको शुद्ध नश्लका बारेमा जानकारी गराउँदै तिनीहरूको संरक्षण र प्रवर्द्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको कृषि-अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए । तत्कालीन समयमा पहिलो पटक नेपालमा राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा नश्ल सुधारको उद्देश्यका साथ जर्सी बहर ल्याइएको इतिहास छ ।
त्यसयता औपचारिक रुपमा एनएलएस आइपी आयोजनामार्फत अमेरिकाबाट साँढे ल्याइएको थियो । नेपालमा भारत सरकारको सहयोगमा ल्याउन लागिएका मुर्रा राँगा उत्पादकत्व वृद्धिका लागि महत्त्वपूर्ण हुने खड्काले बताए ।
“नेपालमा हाल थोरै मात्रामा दूध दिने भैँसी छन्”, उनले भने, “भारतबाट ल्याउन लागिएका मुर्रा राँगोको वीर्यबाट जन्मने पाडीहरूको दूध दिने क्षमता बढी हुन्छ ।”